काठमाडौं । भारत सरकारले रेल सेवा बन्द भएको ३० वर्षपछि धनगढीसंग जोडिएको भारतीय नाका गौरीफन्टासम्म रेल सेवा सञ्चालन गर्ने भएको छ ।
रेल सेवा बन्द भएको गौरीफन्टा रुटमा ३० वर्षपछि भारत सरकारले रेल सेवा सञ्चालन गर्ने सोचका साथ आवश्यक तयारी थालेको छ । त्यसका लागि रेल सेवाका अधिकारीहरुले स्थलगत अध्ययन गरी बन्द स्टेशन र रुटको अवस्थाका बारेमा जानकारी लिईसकेको छ ।
१४ अप्रेल १९१४ मा दुधुवा–गौरीफन्टा जोड्ने १४ माईल लम्बाई रेल लाईन निर्माण गरी भारत सरकाले सीमावर्ती बजार गौरीफन्टासम्म रेल सेवा सञ्चालनमा ल्याएको थियो । यो रुटमा घाटा भएको भन्दै भारत सरकाले सन १९९३ मा रेल सेवा बन्द गरेको थियो ।
पूर्बोत्तर रेलवेका महाप्रबन्धक चन्द्रबीर रमणले चार दिन अघि मैलानी जक्सनको निरिक्षण गर्दै दुधुवा–गौरीफन्टा रेल सेवा सञ्चालनका लागि आवश्यक प्रकृया अघि बढाईएको जानकारी दिएका थिए । रमणकै निर्देशनमा आरएम आदित्य कुमारले गौरीफन्टाको स्थलगत अध्ययन गरेको बताईएको छ । आरएम आदित्य कुमारले रेल सेवा सञ्चालनका सम्बन्धमा स्थलगत अध्ययन प्रतिबेदन बुझाएपछि थप प्रकृया अघि बढ्ने बताईएको छ ।
