काठमाडौं । सांसद सरस्वती बजीमयले खोटाङ र उदयपुर जोड्ने धाप्लाङघाट पुल निर्माण कार्य ठेकेदारले अलपत्र पार्दा जनताले सास्ती खेप्नु परेको बताएकी छन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकको शुन्य समयमा बोल्दै सांसद बजीयमले खोटाङ जिल्ला बाह्रापोखरी गाउँपालिका अन्तर्गत खोटाङ र उदयपुर जोड्ने धाप्लाङ्घाट पुल दुई बर्ष भित्र सम्पन्न गर्नुपर्ने काम हालसम्म पनि दुई वटा खम्बा बाहेक अन्य काम हुन नसकेको भन्दै यथासिघ्र सम्पन्न गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी छन् ।
‘दुई बर्षभित्र काम सम्पन्न गर्नुपर्ने गरि २०७३ सालमा शिल्यानाश भएको थियो । तर, ७९ साल सकिन लाग्दा समेत दुईतिर खम्बा राख्नुबाहेक केहि काम भएको छैन । जसले गर्दा खोटाङ जिल्ला दक्षिण भेगका जनताहरु मर्कामा परेका छन्’, उनले भनिन्- ‘तराई जोड्ने र त्यस भेगका कृषकहरुको उत्पादन बेचबिखन गर्न समस्या भएको हुँदा उक्त पुल यथाशिघ्र सम्पन्न गर्नका लागि सभामुखमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछु ।’
त्यस्तै, उनले बंशिलाघाट पुल पनि यसै बर्ष शिलान्यास भएको भन्दै यो पनि समयमा नै सम्पन्न गर्न माग गरेकी छन् ।
