कृष्ण कुँवर।
बिश्वाश, आशा र प्रेम मद्धे संसारका सबै कुरा भन्दा महान प्रेम हो। प्रेम सहनशील हुन्छ र दयालु हुन्छ। प्रेमले डाह गर्दैन, न शेखी गर्छ। प्रेम हठी हुँदैन, न ढीट हुन्छ। प्रेमले आफ्नै कुरामा जिद्दी गर्दैन, झर्को मान्दैन, खराबीको हिसाब राख्दैन प्रेम खराबीमा प्रसन्न हुँदैन, तर ठीक कुरामा रमाउँछ। प्रेमले सबै कुरा सहन्छ, सबै कुराको पत्यार गर्छ, सबै कुरामा आशा राख्छ, सबै कुरामा स्थिर रहन्छ।
जहाँ साँचो प्रेम छ त्यहाँ रिस, डाह, झगडा, ईष्या, घमण्ड नै हुँदैन । प्रेमले असंख्यक गल्तीहरुलाई पनि ढाक्न सक्छ, कैयौं चोटहरुलाई पनि क्षमा दिन सक्छ । प्रेम हिमाल झैं अटल रहन्छ तर देखावटी प्रेम क्षणिक हुन्छ।
विश्वभर आज भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाईंदै छ । विशेष गरी युवा युवतीले यसलाई विशेष चाडकै रुपमा मनाउँछन् । नेपालमा पनि पछिल्ला केही वर्षदेखि प्रेम दिवस विशेष रुपले मनाउने गरिएको पाईन्छ । यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने तथा आफूलाई मन परेका व्यक्तिसमक्ष प्रेम प्रस्ताव राख्ने गर्छन् ।
यस अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम हुँदैछन । अहिले विश्वभर युवायुवतीले विशेष महत्वका साथ मनाउने भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवसका बारेमा विभिन्न किंवदन्ती पाइन्छ ।भ्यालेन्टाइन डे को औपचारिक शुरुवात चाहिं सन् २६९ बाट रोमनबाट भएको मानिन्छ । यो दिवससँग एउटा दुःखान्त प्रेम कथा जोडिएको छ ।
तत्कालीन रोमन सम्राट क्लाउडियस द्वितीयले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लगाएका थिए । प्रेम र विवाहले सैनिक कमजोर हुन्छन् तथा युद्धसँग सम्बन्धित गोप्य सूचना बाहिर सार्वजनिक हुन्छ भन्ने धारणाले सम्राट क्लाउडियसले प्रेम तथा विवाहमा रोक लगाएका थिए ।
तर सम्राटको नियम मन नपराउनेमध्ये रोमनका पादरी सन्त भ्यालेन्टाइनले प्रेमको पक्षमा आवाज उठाए । उनले प्रतिबन्ध उल्लंघन गर्दै धेरै सैनिकको सार्वजनिक रुपमा विवाह गराए । सम्राटले उनलाई पक्राउ गरी मृत्युदण्डको सजायँ सुनाएर जेलमा राखे । जेलमा रहँदा सन्त भ्यालेन्टाइनको जेलरकी दृष्टिविहीन छोरीसँग माया बस्यो ।
आफूलाई मृत्युदण्ड दिनुअघि सन्त भ्यालेन्टाइनले लभ फर्म योर् भेलेन्टाइन भन्ने हस्ताक्षरसहितको प्रेमपत्र आफ्नी प्रेमिका अर्थात जेलरकी छोरीलाई दिएको कथन छ ।
उनले आफ्ना दुवै आँखा प्रेमिकालाई दिएर मृत्युदण्ड स्वीकारेका थिए । उनलाई सन् २६९ को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । सन्त भ्यालेन्टाइनले प्रेमका लागि गरेको त्यस त्यागको सम्झनामा विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा प्रेम दिवसको रुपमा भ्यालेन्टाइन डे मनाउने गरिएको हो । ख्रीष्टमस् पछि कार्डहरु र फूल सबैभन्दा बढि भ्यालेन्टाइन् मा नै हुने गर्छ।
आज मन पराएको मान्छेलाई अबिबाहितले-अबिबाहित लाई प्रस्ताब राख्न सजिलो दिन हो भनें- बिबाहित हरुले यो दिनलाई दुरुपयोग गर्ने संभावना बढि हुन्छ। त्यसैले प्रेम दिवस मा आफ्नो परिवार लाई सम्झेर मात्र प्रेम दिवस मनाउनु उचित् हो।
- September 29, 2026
