काठमाडौं । समाचारकाे बिषय लिएर गढीखबर दैनिकका प्रकाशक तथा कार्यकारी सम्पादक राजेन्द्र दुष्टलाई ज्यान मार्ने धम्की दिने चौदण्डीगढी नगरपालिका वडा नं ९ का वडाध्यक्ष प्रकाश राउतलाई कार्वाहीको माग गर्दै नेपाल पत्रकार माहासंघ उदयपुर शाखाले विज्ञप्ति प्रकाशित गरेको छ । २५ गते नै विज्ञप्ति प्रकाशितगरी पीडित पत्रकारलाई न्याय दिन माग गरेको हो ।
माघ २४ गते भिम सामुदायिक वन क्षेत्रभित्रको द्वाराखोलाको उत्खनन भइरहेको विषयमा समाचार संकलन गर्न पुगेका पत्रकार राजेन्द्र दुष्टलाई वडाध्यक्ष राउतले दुव्र्यवहार गरेका थिए ।
स्थानिय सरकारकाे कानुन विपरित खोलाबाट गिट्टि दाेहन भइरहेको छ भन्ने सूचना आएपश्चात समाचारका लागि सोही ठाउँ पुगेका पत्रकार दुष्टमाथी दुव्र्यवहार भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उक्त घटनामा पत्रकार दुष्टको क्यामेरा र मोवाईलमा समेत क्षती पुगेकाे छ । क्षती पुगेको सामानको क्षती पूर्ती उपलब्ध गराउन र घटनामा संलग्न वडाअध्यक्ष राउतमाथी हदै सम्मको कार्वाहीको माग विज्ञप्तिमा गरिएकाे छ ।
समाजमा हुने विकृति विसंगतीको आवाज उठाउन पत्रकारको महत्वपूर्ण जिम्मेवारी रहेको भन्दै स्थानीयहरुको सूचनाको आधारमा पत्रकार दुष्ट त्यस ठाउँमा पुगेका थिए ।
घटनाको विरोध गर्दै, आदिवासी जनजाति पत्रकार माहासंघ (फोनिज), किरात पत्रकार संघ, र तामाङ पत्रकार संघ उदयपुरले समेत घटनाको निन्दा गर्दै संयुक्त विज्ञप्ति जारी गरेका छन् । पत्रकार दुष्ट नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नं. प्रदेशको उपाध्यक्ष समेत हुन् ।
