काठमाडाैँ । वरिष्ठ कलाकार हरिवंश आचार्यले मुलुककाे राष्ट्रपति डा.सन्दुक रुइतलाई बनाउन पाए देशकै प्रतिष्ठा बन्ने बताएका छन्।
महजाेडीसँग डा. सन्दुककाे तस्बिर सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्दै ‘मह’ जाेडिका ‘ह’ अर्थात् हरिवंशले यस्ताे प्रस्ताव राखेका हुन्।
यसअघिका निर्वाचनका समयमा आफू कुनैपनि राजनीतिक पार्टीसँग आवद्ध नभएकाे र कुनैपनि उम्मेदवारलाई साथ नदिने बताउँदै आएका कलाकार आचार्यले सन्तुकलाई राष्ट्रपति बनाउने इच्छा व्यक्त गरे।
नेत्र विशेषज्ञ डा. सन्दुक पेशासँगै मानव कल्याणका तथा समाज सेवामा लागेका व्यक्ति हुन्।उनकाे यही कार्यकाे कदर स्वरूप बहराइन सरकारले १० लाख अमेरिकी डलर राशीको त्यहाँकाे प्रतिष्ठित ‘इसा अवार्ड’ उनलाई प्रदान गर्ने निर्णय गरेको छ।
बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित उक्त पुरस्कार हरेक दुई वर्षमा संसारभरबाट मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थालाई प्रदान गरिन्छ।
राष्ट्रपति विद्यादेवी भण्डारीकाे कार्यकाल सकिन लाग्दा यतिबेला मुलुककाे राष्ट्रपति काे बन्ने भन्ने विषय निकै चर्चामा छ। केही राजनीतिक दलका पुरानै अनुहार पनि राष्ट्रपतिकाे दावेदार रहेकाे हल्ला पनि छ।
