Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

एक–दुईजनासँग प्रेमसम्बन्ध रहे पनि विवाहमा रूपान्तरित हुन सकेन-विशाल भट्टराई

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 30, 2021
33 shares

 

PM Oli appoints Bishal Bhattarai as NCP Parliamentary Party's chief whip -  The Himalayan Times - Nepal's No.1 English Daily Newspaper | Nepal News,  Latest Politics, Business, World, Sports, Entertainment, Travel, Life Style  News

 

‘राजनीतिमा लागेका मानिस पनि इमानदार हुन्छन् भन्ने देखाउन पाए पुग्छ,’ सांसद विशाल भट्टराईको बुझाइ छ, ‘हामीसँग जल, जमिन, जंगल, जडीबुटी र जनशक्तिलगायतका स्रोत–साधन छन् । यसको सही सदुपयोग गर्न सके मुलुक बनिहाल्छ ।’ मुलुकमा ठुल्ठूला पूर्वाधार निर्माण गर्न सके लाखौंको संख्यामा रोजगारी सिर्जना गर्न सकिन्छ । त्यसका लागि मुलुकमा रहेका आन्तरिक स्रोत साधनको अधिकतम सदुपयोग गर्न सकिन्छ भन्ने सांसद विशाल भट्टराईसँगको कुराकानी :

मेरो खाना
सामान्यतः नेपाली खाना दालभात तरकारी नै मन पर्छ । त्यसो भन्दा अन्य खानालाई हेलाँ गरेको भने होइन । घर पुग्दा कोदोको ढिँडो र गुन्द्रुक खान मन पर्छ । खानकै लागि कहिलेकाहीं रेष्टुरेन्ट पुग्छु । रेष्टुरेन्ट पुगिहाल्दा मःमः रोजाइमा पर्छ । रुचि भए पनि पकाउन पाएको छैन । क्याम्पस पढ्दा १०÷१२ वर्ष आफैंले पकाएकै हो ।

मेरो पोसाक
प्रायः सर्ट–पाइन्ट र सुट लगाउँछु । सांसद भएपछि कोट लगाउन थालेको हुँ । कपडामा न्यूनतम खर्च हुन्छ । उज्यालो रङको कपडा छान्ने गरेको छु । धेरैजसो कपडा किनेर सिलाउने गर्छु । चल्तीभन्दा सामान्य टेलरिङमा कपडा सिलाउँदै आएको छु । कपडाको ‘ब्रान्ड’ बारे सामान्य जानकारी छ । अहिलेसम्म ह्याट, क्याप लगाएको छैन ।

 

मेरो फिटनेस
समाचार सुन्दै मर्निङवाक निस्कने बानी छ । योगा गर्ने बानी छैन । डाइटिङ गर्दिनँ ।

मेरो अध्ययन
हिजोआज वामदेव गौतमको ‘पुनर्निमाण महाअभियान’ पढिरहेको छु । यसअघि लालबावु पण्डितको ‘सिंहदरबार बदल्ने यात्रा’ पढें । बजारमा आएका चल्तीका समसामयिक किताब पढ्न छुटाउँदिनँ ।

साहित्य विधामा कृष्ण धरावासीको उपन्यास पढ्न जाँगर चल्छ । विद्यार्थीकालमा सरुभक्तका उपन्यास पढ्न छुटाइनँ । राजनीतिक लेखकमा मोदनाथ प्रश्रित, प्रदीप नेपाल, प्रदीप ज्ञवालीलगायतलाई पढेको छु ।

मेरा तीन ठाउँमा किताब छन् । ०४६ को जनआन्दोलनताका सुरक्षाकर्मीले पटक–पटक दुःख दिएपछि दाइले अधिकांश किताब जलाउन बाध्यता भयो । अहिले घर (खोटाङको खोटाङ बजार), दिक्तेल बजार र काठमाडौंमा गरी झन्डै पाँच हजार किताब छन् । पुस्तकालय बनाउने सोच बनाएको छु । सालिन्दा २० देखि ५० हजार रुपैयाँसम्मको किताब किन्ने गरेको छु ।

मेरो घुमफिर
घुमफिरमा असाध्यै रुचि छ । कर्णाली अञ्चलबाहेक मुलुकका ६० जिल्ला पुगेको छु । दक्षिण अफ्रिका, केन्या, जापान र भारत घुमेको छु । घुमेकामध्ये जापान असाध्यै मन पर्यो । स्वदेशमा पोखराले आकर्षित गर्यो । ८३ वर्षीया आमासहित परिवारलाई लिएर मुक्तिनाथ जाने रहर छ ।

मेरो फुर्सद
मेरो सबैभन्दा बढी समय टेलिफोन कुराकानीमा बित्ने गर्छ । खोटाङमा पार्टी नेतृत्व गरेर बसेको, घर–घरमा चिनिएकाले स–साना काममा अधिकांशले टेलिफोन गर्छन् । स–साना कामसमेत पूरा गर्नुपर्छ भन्ने मान्यता छ । तसर्थ, राजनीतिक दौडधुप छ ।

दौडधुप भए पनि मोबाइल ‘स्वीचअफ’ गर्ने बानी छैन तर कतिपय अवस्थामा निश्चित समयमा सक्नैपर्ने काम पूरा गर्न मोबाइल ‘स्वीचअफ’ गर्नुपर्ने बाध्यता हुन्छ । दुईमध्ये स्काई मोबाइलचाहिँ कहिल्यै ‘अफ’ गर्दिनँ । धेरै नै थकाइ लागेको बेला कहिलेकाहीं चल्तीका मोबाइल राति १०–११ बजेपछि ‘अफ’ गर्छु ।

फुर्सद भइहाल्दा घाममा बसेर चिया खाँदै किताब तथा पत्रपत्रिका पढ्छु । यसैगरी, छोराछोरी, साथीभाइसँग हलमै पुगेर चलचित्र हेर्ने गर्छु । घरपरिवारलाई बेवास्ता गरेको छैन । यदाकदा परिवारसहित घुम्न, रेष्टुरेन्टमा खान र चलचित्र हेर्न जाने गरेको छु ।

मेरो खेलकुद
म खेलाडी होइन तर क्याम्पससम्म खेलमा रुचिसाथ लागेको थिएँ । हिजोआज पनि उद्घाटन गर्न जाँदा एक गेम भलिबल तथा फुटबल खेल्ने गर्छु । केटाकेटीमा डन्डिबियो धेरै खेलेको थिएँ ।

मेरो मोबाइल
दुई मोबाइल सेट प्रयोग गर्दै आएको छु । सामसुङ र एमआईको क्रमशः १७ र ३० हजार रुपैयाँ परेको थियो । एमआईचाहिँ निर्वाचनताका साथीले किनिदिएका हुन् । काम लागुन्जेल मोबाइल प्रयोग गर्छु । आफूलाई चाहिने मोबाइलका ‘एप्लिकेसन युज’ गर्ने बानी छ । कहिलेकाहीं गेमसमेत खेल्छु ।

मेरो टीभी
टेलिभिजनमा समाचार प्राथमिकतासाथ हेर्छु । ख्यातिप्राप्त व्यक्तिको अन्तर्वार्ता हेर्छु । हास्यव्यंग्यसमेत हेर्न जाँगर चल्छ । टेलिभिजन हेर्ने समय बेलुका जुर्छ । घरमा १० वर्षअघि किनेको सामसुङको सानो टीभी छ । दिक्तेलको डेरामा घरभेटीकै टीभी छ । काठमाडौंमा एलजीको २१ इन्चको टीभी छ । यसलाई २० हजार रुपैयाँ परेको थियो ।

मेरो चलचित्र
मैले पछिल्लो समय कबड्डी–कबड्डी हेरेको थिएँ । टीभी र भिसिडीमा चलचित्र हेर्ने गरेको छैन । हेरेकामध्ये बलिदान, माइतीघर, कान्छी, कुसुमेरुमाल र पशुपतिप्रसाद राम्रो लाग्यो । सरोज खनाल, राजेश हमाल, नवल खड्का, दयाहाङ राई र सिर्जना बस्नेतको अभिनय जीवन्त लाग्छ ।

 

मेरो रोग
मलाई ग्यास्ट्रिक छ । यसले समय–समयमा दुःख दिन्छ । यसबाहेक स्वस्थ छु । अहिलेसम्म पाँचपटक होलबडी चेकअप गराएको छु । हिँडडुल र मिहिनेत गर्ने भएकाले स्वस्थ रहेको हुँ भन्ने मेरो ठम्याइ छ ।

मेरो भाषणशैली
राजनीतिक नेता भएपछि भाषण गरिरहनुपर्छ । आफैंले मूल्याकंन गर्दा आफ्नो भाषणशैली ‘इन्फर्मल टाइप’ को हो भन्ने लाग्छ । भाषणशैलीमा बौद्धिकता भर्नुपर्ने आत्मसमीक्षा गरेको छु । १८ वर्षदेखि निरन्तर खोटाङमा छु, यत्तिका अवधिमा मलाई सुनिरहनु भनेको सामान्य होइन । आकर्षण कायम राख्न पाउँदा गौरवान्वित छु । भाषण गर्दा नजानिँदोपारामा ‘तपाईंको’ भन्ने थेगो प्रयोग गर्दोरहेछु ।
प्रतिपक्षमा रहँदा कहिलेकाहीं आक्रामक भाषण गर्नु अस्वाभाविक होइन । हिजोआज त विकास निर्माणका कुरामात्रै गरिन्छ । भाषण गरेकै आधारमा कहिलेकाहीं विवादमा तानिएको छु ।

मेरो मापसे
मादक पदार्थ खाने गरेको छैन । तर, स्वादचाहिँ थाहा छ ।

मेरो संगीत
गीत–संगीत सुन्न असाध्यै मन पर्छ । नारायणगोपाल, भक्तराज आचार्य, राजेशपायल राई, शिशिर योगी, अरुणा लामा, तारादेवी, मीरा राणा, अञ्जु पन्त, मेलिना राईको आवाज कर्णप्रिय लाग्छ । जनवादी गायकमा रामेश, रायन, मञ्जुल, जीवन शर्मा र मधु गुरुङलाई पनि सुन्ने गरेको छु । नारायणगोपाल र अरुणा लामाका गीत गुनगुनाउँछु ।

मेरो भूल
जानअन्जानमा मानिसबाट गल्ती हुनु अस्वाभाविक होइन । सोचविचार गरेर निर्णय गर्ने बानी भएकाले आजसम्म पश्चाताप लाग्नेगरी गल्ती गरेको छैन । बोल्दा कहिलेकाहीं बिग्रे पनि कामले बिगारेको छैन ।

बाल्यकालमा आहालको डिलमा बसेर भैंसी चराउँदै गर्दा खैनी खाएँ । मात लागेर आहालमा डुबेपछि खैनी खाइनँ । खैनी खाएको त्यो नै पहिलो र अन्तिम भयो । गल्ती नगरी सजाय पाउनु अस्वाभाविक होइन । त्यो ममा पनि लागू हुन्छ ।

मेरो घर
दुई दाजुहरू मोरङको विराटनगर र काठमाडौंमा बस्छन् । म खोटाङ बजारमा रहेको मूलघरमा बस्दै आएको छु । हामी अहिलेसम्म सगोलमै छौं । अहिलेको घर ०४५ को भूकम्पपछि दाजुले बनाएका हुन् । गोरखा भूकम्पले भत्काएपछि मैले तीन लाख रुपैयाँमा पुनःनिर्माण गरेको हुँ ।

मेरो राशी
मेरो राशी मिथुन हो । ग्रहदशा हेराउने गरेको छैन । पत्रपत्रिकाको राशीफलचाहिँ हेर्ने गरेको छु । आजसम्म ग्रहशान्ति गराएको छैन ।

मेरो सौन्दर्यचेत
कपालमा सामान्य तेल लगाउँछु । फेसियल गर्ने, अनुहारमा क्रिम लगाउने बानी छैन । कहिलेकाहीं पफ्र्युम प्रयोग गर्छु । ढाड दुखेर अस्पताल रहँदा साउना बसेको थिएँ ।

मेरो प्रेम
हाम्रो मागीबिहे हो । एक–दुईजनासँग प्रेमसम्बन्ध रहे पनि विवाहमा रूपान्तरित हुन सकेन ।

 

मेरो सपना
निर्णायक ठाउँमा पुग्न पाए केही गर्न सकिन्थ्यो भन्ने लाग्छ । सर्वप्रथम मुलुकमा ठुल्ठूला पूर्वाधार निर्माण गर्नुपर्छ । त्यसले लाखौंको संख्यामा रोजगारी सिर्जना गर्छ । त्यसका लागि मुलुकमा रहेका आन्तरिक स्रोत–साधनको अधिकतम सदुपयोग गर्न सकिन्छ । हामीसँग मुख्यतः पाँच स्रोत छन् । ती हुन्– जल, जमिन, जंगल, जडीबुटी र जनशक्ति । उल्लिखित स्रोत–साधनको सही सदुपयोग गर्न सके मुलुक बनिहाल्छ । पर्यटन, कृषि र ऊर्जा विकासका लागि महत्वपूर्ण आधार हुन् ।

म साधारण परिवारबाट आएको व्यक्ति हुँ । काम र मिहिनेतले यहाँसम्म आइपुगेको छु । धेरै माथि पुग्छु भन्ने लागेको छैन । एकपटक मन्त्रीको भूमिका निर्वाह गर्ने रहर छ । राजनीतिमा लागेका मानिस पनि इमानदार हुन्छन् भन्ने देखाउन पाए पुग्छ ।

खोटाङ भौतिक विकासको दृष्टिले पछि परेको छ । हामीले भौतिक पूर्वाधारलाई ध्यान दिन सकेका छैनौं । जिल्लालाई भौतिक पूर्वाधारले सम्पन्न बनाउनसाथ खोटाङ उकासिहाल्छ । हलेसीलाई मात्रै राम्रो बनाउन सके खोटाङलाई उठाउँछ ।

मेरो मृत्यु
मृत्यु शाश्वत सत्य हो । जीवन लम्ब्याउन र मृत्यु छोट्याउनबाहेक केही गर्न सकिँदैन । यात्रामा निस्कँदा जोगिन खोज्नु भनेको मृत्युसँग डराउनु नै हो । तर, मृत्यु सम्झेर डराइरहन आवश्यक छैन । जीवनमा पटक–पटक मृत्युको नजिक–नजिक पुगेको छु । त्यसमध्ये ०४६ को जनआन्दोलनताका म जुलसमा थिएँ । भौगदौडक्रममा साँघुरो गल्लीमा दुवैतिरबाट सुरक्षाकर्मीले घेरा हाले । पर्खालबाट हाम्फाल्दा ठूलो नालीमा मुन्टो गाडियो । उद्धारका लागि एक मिनेट ढिलो भएको भए ज्यान जान्थ्यो । तत्काल साथीहरूले उद्धार गरे ।

संवत् ०५९ मा मलाई माओवादी कार्यकर्ताले ४६ दिन अपहरण गरे । त्यतिबेला खोटाङमा झन्डै २४ जना मारिइएका थिए । त्यतिबेला पनि म मृत्युको मुखमै पुगेको थिएँ । माओवादीबाटै नमारिँदा पनि सेना र प्रहरीबाट जे पनि हुन सक्थें । दोहोरो भीडन्तमा पर्ने त्यत्तिकै खतरा थियो ।

काम गर्दागर्दै, हिँडडुल गर्दागर्दै मर्न पाए हुन्थ्यो भन्ने लोभ छ ।

 

फागुन १३, २०७४ रातोपाटीबाट प्रेसित सामाग्री

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved