काठमाडौं । लाजिम्पाटस्थित गगन थापा बसेको होटेल नजिकबाट दुई प्रहरी कार्यकर्ताको फन्दामा परेका छन् । शंकास्पद रूपमा होटेल नजिक उपस्थित रहेको उनीहरूलाई कार्यकर्ताले घेरा हालेर नियन्त्रणमा लिएका थिए ।
उनीहरूको साथबाट नेपाल प्रहरीद्वारा जारी परिचयपत्र समेत भेटिएको बताइएको छ । एक जनाको साथबाट असई र एक जनाको साथबाट प्रहरी जवानको परिचयपत्र भेटिएको एक कार्यकर्ताले बताए ।
सभापति शेरबहादुर देउवाविरुद्ध संसदीय दलको नेतामा उम्मेदवारी दिएपछि थापाको निगरानी बढेको कार्यकर्ताको आरोप छ ।
प्रधानमन्त्री समेत रहेका देउवाले सत्ताको दुरुपयोग गरी थापामाथि सूक्ष्म निगरानी गरेको समेत कार्यकर्ताको आरोप छ । यसबारे एक उच्च प्रहरी अधिकारीले भने यस्तो गतिविधिमा संलग्न प्रहरी कर्मचारीमाथि कारबाही हुन सक्ने बताए ।
प्रहरीले संस्थागत रूपमा मात्र सुरक्षा गतिविधि गर्दै आएकोमा यस्तो गर्नेहरूको व्यक्तिगत रूपमा जिम्मेवार हुने समेत बताए । बुधबार कांग्रेस संसदीय दलको निर्वाचन हुँदैछ ।
