सिलिगुरी । राज्यबाट नेपाली इसाई समुदायमाथि विभेद कायम रहेकोले विश्वको ध्यानाकर्षण हुनु पर्नेमा नेपाल ख्रिष्टियन पत्रकार संघका अध्यक्ष गिदोन लामिछानेले जोड दिएका छन् । भारतको सिलिगुरीमा कात्तिक १४ गते भएको सम्बद्र्धना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लामिछानेले उक्त कुरा बताएका हुन् । अध्यक्ष लामिछानेले भने, ‘नेपालको संविधानमा धर्मनिरपेक्षता उल्लेख भएपनि कानूनमा धर्म परिवर्तनको मुद्दा लगाएर क्रिश्चियनहरु माथि विभेद भएको छ । एक हातमा कानून राखेर अर्को हातमा बाइबल पढ्नुपर्ने अवस्था छ । नेपालमा धार्मिक स्वतन्त्रताका लागि संसारभरका क्रिश्चियनहरुले आवाज उठाउने बेला भएको छ ।’
अध्यक्ष लामिछानेले भने, ‘मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ, निर्वाचनबाट चुनिएका सांसदहरुले क्रिश्चियनहरुलाई लक्षित सबै कानून खारेज गरेर आ–आफ्नो धार्मिक आस्था छान्न, मान्न र प्रचार गर्न पाउने व्यवस्था निर्माण गर्न सकुन्, क्रिश्चियन विरोधीहरु पराजित बनून् । नेपालमा क्रिश्चियनहरुको संख्या बृद्धि होस् र समृद्ध राष्ट्र बनोस् ।’
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लामिछानेले भने, ‘राजनीतिक भूगोलका आधारमा नेपाली भाषीहरु विभिन्न देशका भएपनि भाषाका कारण एउटै बनाएर राखेको छ । नेपालमा इसाई समुदायमाथिको राज्यबाट भएको विभेद अन्त्य गराउन विश्वभरी रहेका इसाईहरुले आवाज बुलन्द बनाउनुपर्छ ।’कार्यक्रममा अमेरिका, भुटान, नेपाल, भारत लगायतका विभिन्न राष्ट्रबाट सहभागि भएका नेपाली भाषी साहित्यकार, प्रचारक, पत्रकार, स्रष्टा एवम् संगितकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।
संयुक्त राज्य अमेरिकाबाट सञ्चालन भइरहेको अनलाईन कार्यक्रम ‘जीवनको यात्रा’ले कार्यक्रम आयोजना गरेको हो । स्रष्टा संगमको सहकार्यमा भएको उक्त कार्यक्रममा नेपाली भाषा तथा साहित्य क्षेत्रमा योगदान पु¥याएका स्रष्टा तथा वरिष्ठ साहित्यकार, पत्रकार एवम् मिस्पा हिमालयन इन्स्टिच्युटका संस्थापक रेभ. डा. छत्र सुब्बा ‘पावल’ लाई सम्बद्र्धना कार्यक्रम अन्तर्गत सम्मान गरिएको थियो ।
भारतको कालिम्पोङमा जन्मिएका आफ्नो जीवनलाई सेवामा समर्पण गरेका वरिष्ठ साहित्यकार सुब्बालाई सम्मानस्वरुप एक लाख भारतीय रुपैँयासहित दोसल्ला र सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।
प्रेरित धुब्र शिष्यको सभापतित्व र डा. बिडी राईको प्रमुख आतिथ्यता सम्पन्न भएको कार्यक्रममा गायक प्रज्वल रम्तेल, रमा शर्माले गीत गाएका थिए कवियत्री केके प्रधानले कविता बाचन गरेकी थिइन् । साहित्य, स्तम्भ लेखन, पत्रकारिता लगायतका क्षेत्रमा सुब्बाले अनवरत रूपमा कलम चलाउन सफल भएको साथै बाइबलीय शिक्षा प्रदान गर्ने क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएकोले उनलाई सम्मान गरिएको जीवनको यात्रा कार्यक्रमका निर्देशक यम सिवाले जानकारी दिए ।
कार्यक्रममा नेपालबाट पत्रकार निरोज तोलाङ्गे, कुमार सिहं विष्ट, थोमस बोगटी, भारतबाट पास्टरहरु, डा. सलोन कार्थक, हनोक थापा, अमेरिकाबाट डा. मनोज श्रेष्ठ, पास्टर सन्त गजमेर, पास्टर लाजरस थुलुङ, पास्टर राजु सुन्दास लगायतले मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन स्टेला राई र पास्टर विजय सुब्बाले गरेका थिए । ‘जीवनको यात्रा’ अनलाईन युट्युव कार्यक्रमका सञ्चालक यम शिवाले यसअघि ख्रीष्टियन भजन तथा संगितकार जोनड्री खवासलाई काठमाण्डौंमा सम्बद्र्धना गरेका थिए ।
सम्मानित छत्र सुब्बालाई बधाई व्यक्त गर्दै जीवनको यात्रा कार्यक्रमको उक्त अभियानलाई निरन्तरता दिन संस्थागत रुपमा काम गर्नुपर्ने नेपाल ख्रिष्टियन पत्रकार संघका अध्यक्ष गिदोन लामिछानेले सुझाव दिएका छन् । उक्त कार्यले भाषा, साहित्य र लेखनको क्षेत्रमा स्रष्टाहरुलाई थप हौसला प्रदान हुने बताए ।
