खोटाङ। खाेटाङकाे दिक्तल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेलमा नगरपालिकाकाे आन्तरिक स्रोतकारुपमा चिल्ड्रेनपार्क सहितको सपिङ कम्प्लेक्स निर्माण गरेर गत फागुन ३ गते तामझामकासाथ उद्घाटन गरेकाे थियाे । उक्त भवनकाे तल्लो तलामा १४ सटर र माथिल्लो तलामा रेष्टुरेण्ट हल रहेकाे छ, झट्ट हेर्दा संरचना नगरपालिकाको लागि गतिलो आम्दानीको स्रोत बन्नेमा ढुक्क हुनुपर्ने जस्तो देखिन्छ। अझ सपिङ कम्प्लेक्सको पछाडिको भागमा तयार भएको केटाकेटी खेल्ने स्वीमिङ पुल, कोलम्वस राईड (पिङ), स्वीङराईड लगायतका संरचनाले सुनमा सुगन्ध थपिएको भने जस्तै देखिन्छ ।उद्घाटनकाे समयमा नगरपालिकाले निर्माण गरेको उक्त संरचनाको चौतर्फी तारिफसमेत भएको थियो ।
तर, उक्त चिल्ड्रेनपार्क सहितको सपिङ कम्प्लेक्स अहिले विवादै विवादमा फसेको छ । निर्माण सम्पन्न भएको ६ महिना नबित्दै वर्षाले संरचना भासिएपछि केही समय अगाडि विवादमा आएको कम्प्लेक्सको जग्गा समेत नगरपालिकाकाे नभएर नेपाल बाल मन्दिरको नाममा रहेको खुल्न आएकाे छ। नगरपालिकाले आफ्नो आन्तरीक आय स्रोतकालागि भन्दै निर्माण गरेको संरचना अर्कैको नाममा हुनुले कम्प्लेक्स पुनः विवादमा फसेको हाे।
उक्त कम्प्लेक्स निर्माण गरिएको जग्गा हालको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ साविकको दिक्तेल गा.वि.स ४ रत्नपार्क स्थित कित्ता नम्बर ११६४ को क्षेत्रफल १-७-३-२ ( एक रोपनी सात आना तीन पैसा दुई दाम ) नेपाल बाल मन्दिरको नाममा रहेको मालपोत कार्यालय खोटाङले पुष्टि गरिदकोिए छ । आफ्नो नाममा रहेको जग्गामा बिना अनुमती नगरपालिकाले संरचना बनाएको नेपाल बाल मन्दिरले जनाएको छ । नेपाल बाल मन्दिरकाे भनाइ अनुसारनै उक्त जग्गा नगरपालिकाको मातहतमा नभइ अहिलेसम्म बाल मन्दिरकै नाममा रहेको मालपोत कार्यालयले पुष्टि गरेको हो । बिना अनुमती संरचना निर्माण भएको भन्दै संरचना निर्माण रोक्न पटक पटक पत्र पठाउदा पनि नगरपालिकाले वेवास्ता गरेको संस्थाको आरोप छ । संरचना निर्माण सम्पन्न भएर सञ्चालनमा आएको ५ महिनापछि जग्गा अतिक्रमण रोक्का सम्बन्धमा असार २६ गते संस्थाको चलानी नम्बर ७८ राखिएको पत्र समेत नगरपालिकामा आएको पाइएको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत अजय कुमार शाहको हस्ताक्षर रहेको पत्रमा भनिएको छ, “नगरपालिका कार्यालयलाई कानुन विपरित गरिएको कार्य रोक्का गर्नको लागि पत्रचार गरिएकोमा हालसम्म पनि उक्त पत्रको प्रति उत्तर प्राप्त नभएको हुँदा के कति कारणले अनाथ बालबालिकाको जग्गामा जनप्रतिनिधिमुलक संस्थाले बिना अनुमती व्यवसायिक भवन बनाई भाडा समेत लगाएर अनाधिकृत प्रयोग गरेको हुँदा यथाशिघ्र नेपाल बाल संगठन बाल मन्दिरको जग्गा फिर्ता गरी सहयोग गरिदिनुहुन अनुरोध गर्दछु ।”
नगरपालिकाले एउटै छानामुनि नुनदेखि सुनसम्मका व्यवसाय सञ्चालन गरेर भाडावापत मासिक न्यूनतम २ लाख बढी राजस्व संकलन गर्ने उदेश्यले सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्क निर्माण गरेको जनाएको थियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको साझेदारीमा ४ करोड ३७ लाख ८४ हजार ७५१ रुपैयाँमा उमा–लामा–अनशुबी जेभी निर्माण कम्पनीले संरचना तयार पारेको हो ।
एक वर्षमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भए अनुसार वि.स. २०७८ साल जेठ ६ गते तत्कालिन नगर प्रमुख दिपनारायण रिजाल तथा पउप्रमुख विणादेवि राईद्वारा शिलान्यास गरिएको थियो । सम्झौता अगावै भवन निर्माण सम्पन्न भएपछि ०७८ फागुन ३ गते तत्कालिन मेयर दिप नारायण रिजाल र उपमेयर विणादेवि राईले भवनको उद्घाटन गरेकाे थियो । सम्झौता अगावै भवन निर्माण सम्पन्न गरेको भन्दै निर्माण कम्पनीलाई नगरपालिकाले पुरस्कारसमेत दिएको थियो । उक्त जग्गा अर्कैको नाममा भएपनि भवन निर्माण र सम्पुर्ण भुक्तानी भइसकेको छ । तर भवन निर्माण सम्पन्न भएको ६ महिना नबित्तै वर्षाले पर्खालहरु भासिएका छन् भने बाल मन्दिरले आफ्नो नाममा रहेको जग्गा फिर्ता गर्न नगरपालिकालाई पत्र पठाएको छ । हुन त नगरपालिकाले गरेकाे बिकासकाे कामहरु प्राय: यस्तै कच्चा, अपरिपक्क र खेलाचिपुर्णरुपमा भएकाे देखिएकाे छ तर याे पार्क सहितकाे सपिङ कम्प्लेक्स भने नगरपालिकााकाे लागि काममा आवत जावत गर्ने जाे काेहिकाे झट्ट नजर पर्ने भएकाेले पनि धेरैकाेले चासाेकासाथ लिएकाे छ। रुपाकाेट खबरकाे सहयाेगमा तयार रिपाेर्ट
