काठमाडौं ।न्यायपरिषदद्वारा उच्च अदालतको न्यायाधीशबाट बर्खास्त गरिएकी रेणुका साहले दायर गरेको मुद्दा आइतबार पेशीमा चढेपनि हेर्न नभ्याइने सूचीमा परेको छ । न्यायाधीश नकुल सुवेदीको इजलासमा सुनुवाइ तोकिएको मुद्दा ‘बेन्च बस्न नभ्याइएको’ भनेर स्थगित भएको हो ।
सुवेदीको एकल इजलासमा परेका सबै मुद्दा हेरिएन भने संयुक्त इजलास मात्रै बस्यो । बिहीबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी उनको मुद्दा आइतबारका लागि पेशी तोकिएकामा सुवेदीको इजलासमा परेको थियो । साहले कामु प्रधानन्यायाधीश, कानुन मन्त्री लगायतलाई विपक्षी बनाएर दायर गरेको मुद्दामा न्यायपरिषदको निर्णय असंवैधानिक भएको जिकिर गरिएको छ ।
सबै प्रक्रिया पुर्याएर नियुक्ति गरिएको साढे तीन वर्षपछि कानूनमन्त्री कोइरालाले आफ्ना पिता एवं पूर्व प्रधानन्यायाधीश रामकुमारप्रसाद साहसँगको प्रतिशोध आफूमाथि साँधेको उनको दाबी छ । कानूनमन्त्री कोइराला संविधान र कानूनभन्दा पनि माथि गएर निर्णय गरिरहेको उनको आरोप छ । असार २४ गते बसेको न्यायपरिषद बैठकले साहलाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।
