काठमाडौं । बाटो मर्मत तथा विविध कारण साबिक बमोजिम फोहोर व्यवस्थापन हुन नसक्दा काठमाडौँको सडकमा फोहोर थुप्रिन थालेका छन् ।
सिसडोलबाट बञ्चरेडाँडा सम्म जाने सडक मर्मतको काम पूरा नभएकाले साबिक बमोजिम फोहोर व्यवस्थापन हुन नसक्दा काठमाडौँको मुख्य चोकमा फोहोर थुप्रिन थालेको हो । मुख्यगरी अनामनगर, कलङ्की, कालीमाटी, बल्खुलगायतका स्थानमा फोहर थुप्रिन थालेको छ ।
यही असार ४ गते काठमाडौँ महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्ताका लागि घरबाहिर फोहर ननिकाल्न आग्रह गरेको थियो ।
एक हप्ताको समयमा पनि सडक मर्मतको काम पूरा नभएपछि सबै सवारीसाधन चलाउन कठिन भएकाले फोहोर व्यवस्थापनमा समस्या भएको कामपाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । उक्त बाटो मर्मतको काम सम्पन्न गर्न अझै समय लाग्ने भएकाले कही दिन सबै स्थानको फोहोर व्यवस्थापन गर्न कठिन हुने उनको भनाइ छ ।
