काठमाडौं । श्रीलङ्काको राजधानी कोलम्बोमा भएको प्रदर्शनका क्रममा एक जनाको ज्यान गएको छ । भने ८४ जना घाइते भएका छन् ।
स्रोतका अनुसार राष्ट्रपति र प्रधानमन्त्रीको राजीनामा माग्दै भएको प्रदर्शनमा प्रहरीसँगको झडपमा २६ वर्षका एक युवकको ज्यान गएको छ । प्रदर्शनकारीले हिजो बुधवार प्रधानमन्त्री कार्यालय कब्जा गरेका थिए ।
राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छाडेर भागेपछि कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी पनि प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पाउनुभएको छ । राजीनामा दिनुको साटो जिम्मेवार हेरफेर गरिएको भन्दै प्रदर्शन चर्किएको छ ।
प्रदर्शनकारीलाई प्रधानमन्त्री कार्यालयबाट भगाउन प्रहरीले अश्रु ग्यास र रबरका गोली चलाएको थियो । प्रदर्शनकारीले सेनाको एउटा राइफल पनि खोसेर लगेका छन् । श्रीलङ्कामा सङ्कटकाल लागू भएको छ भने ठाउँ–ठाउँमा कर्फ्यु लागेको छ । सहरमा सेना परिचालन गरिएको छ ।
