काठमाडौं । भारतले वर्षे धान रोपाईंका लागि मल नदिने निश्चित भएको छ ।
मलका लागि नेपाल-भारतबीच भएको जीटुजी सम्झौताको एक आर्थिक वर्ष सकिएपनि मल आउने कुनै छाँटकाँट दैखिएको छैन । मल ल्याउन पहलका लागि कृषि मन्त्रालयबाट मन्त्रीदेखि अन्य उच्च अधिकारीहरु पटक पटक भारत पुगेका थिए ।
उसो त पाँच वर्षको लगातार प्रयासपछि २०७८ फागुन १६ गतेमात्रै दुई देशको बीचमा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सम्झौता भएको पाँच महिना बितिसक्दा पनि मल भने आउन नसकेको हो ।
मल किन आएन भन्ने बारेमा मन्त्रालयका कुनै पनि स्पष्ट जवाफ दिन सक्दैनन् । सम्झाताअनुसार चालु आर्थिक वर्षमा १ लाख ५० हजार मेट्रिकटन मल नेपाल आयात हुनुपर्ने हो ।
तर, यो आर्थिक वर्ष सकिन केही दिन मात्र बाँकी रहँदा पनि सो मल आएन । कृषि मन्त्रालयका एक सहसचिवले भने, ‘भारतले मल दिन्छु, दिन्छु भनिरहेको थियो तर अहिले आएर के के बहाना बनाएर मल दिनमा आनाकानी गरिरहेको छ । अझै भारतसँग छलफल र डकुमेन्ट आदान प्रदान भइरहेको छ ।’
