काठमाडौं । राइड सेयरिङ प्लाटफर्मको नाममा विदेशी कम्पनी इन–ड्राइभरले हाकाहाकी अवैध व्यापार चम्काइ रहेको छ ।
विश्वका ४२ वटा भन्दा बढी देशमा सञ्चालनमा रहेको भनिएको राइड सेयरिङ अर्थात् राइड हेलिङ कम्पनी इन–ड्राइभरले नेपालमा भने बिना दर्ता, बिना अनुमति खुलेआम राइड सेयरिक सेवा सञ्चालन गरिरहेको पाइएको हो ।
हुन त नेपालमा हालसम्म राइड सेयरिङ कम्पनीहरुलाई आधिकारिक रूपमा यातायात ऐन बमोजिम सञ्चालनको सुविधा छैन ।
तथापि, ऐनको अभावमा यस्ता कम्पनीहरू रजिष्ट्रारको कार्यालयमा दर्ता भएर सञ्चालन हुन पाउने सुविधा छ । तर, इन-ड्राइभर भने कम्पनीले भने हालसम्म कुनै कम्पनीको नाममा पनि दर्ता नभई खुलेआम सेयर राइडिङ सेवा सञ्चालन गरिरहेको पाइएको छ ।
इन–ड्राइभर कम्पनी हालसम्म कम्पनी रजिष्ट्रारको कार्यालयमा पनि दर्ता नभएको र विदेशी लगानी ल्याउन लगानी बोर्डसँग समेत कुनै स्वीकृति नलिएको जानकारी प्राप्त भएको छ । लगानी बोर्डका प्रवक्ता अमृत लम्सालले इन–ड्राइभरको नाममा अहिलेसम्म कुनै विदेशी लगानी स्वीकृत नभएको र स्वीकृतिका लागि माग समेत नभएको बताए ।
