काठमाडौं । आज असार शुक्ल एकादशीका दिन अर्थात् घरमा तुलसीको बिरुवा रोपी पूजा शुभारम्भ गरेर आजको एकादशीसहित चतुर्मास व्रत थालनी गरिँदै छ ।
असार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्मका समयलाई चतुर्मास भनिन्छ । कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीको दिन तुलसीको दामोदरसँग विवाह गरेपछि चतुर्मास सकिन्छ ।
विष्णु भगवान् चीर निन्द्रामा सुतेको बेला अर्थात् चर्तुमासभरि कुनै पनि मङ्गल कार्यहरू जस्तै विवाह, व्रतबन्ध आदिको लगन हुँदैन । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीपछि मात्र मङ्गल लगन तथा मुहूर्तहरू हुन्छन् ।
हरिशयनी एकादशीको महत्त्व
आषाढ शुक्ल–पक्षमा पर्ने हरिशयनी एकादशीलाई एउटा महत्त्वपूर्ण एकादशीका रूपमा वैदिक शास्त्रहरूमा व्याख्या गरिएको पाइन्छ । सृष्टिकर्ता भगवान् हरि अर्थात् विष्णु यस एकादशीबाट चार महिनाका लागि पातालमा शयन ९सुत्न० जाने विश्वास गरिन्छ । त्यही कारण यस एकादशीलाई हरिशयनी एकादशी या देवशयनी र असारे एकादशी पनि भनिन्छ ।
यो एकादशीका दिन चीर निन्द्रामा गएका भगवान् हरि चतुर्मास सकी एकै चोटि कार्तिक महिनाको हरिबोधिनी एकादशीमा मात्र जाग्ने जनविश्वास पाइन्छ । हरिशयनी एकादशीलाई तुलसी रोपण दिवस पनि भनिन्छ । निर्जला एकादशीको दिन छरेको तुलसीको बिउलाई आजको दिन रोप्दै पूजा गरिन्छ ।
हरिशयनी एकादशी मा के के गरिन्छ ?
आजको दिन भगवान् विष्णुको प्रतीकको रूपमा घर–घरमा तुलसी रोप्ने गरिन्छ । घर वरपरको हावा स्वच्छ तुल्याउन तुलसीविना भगवान् विष्णुको कुनै पनि पूजा आराधनाले पूर्णता पाउँदैन । तुलसी अति उपयोगी वनस्पति हो, यसको पात होस् या फूल सबैले उपयोगी औषधिको काम गर्दछन् । रुघाखोकी, ज्वरो जस्ता थुप्रै बिरामीहरूको उपचारमा तुलसी, घरेलु औषधिका उपयोगमा ल्याउने गरिन्छ ।
तुलसी घरमा रोप्नाले घर वरपर नकारात्मक ऊर्जाहरू नास हुने मान्यता पनि छ । हिन्दुहरूका लागि तुलसीको निक्कै महत्त्व रहने गरेको छ । त्यसैले पनि होला प्रायः हिन्दुहरूले आफ्ना घर अगाडि तुलसीको मठ बनाएर राख्छन् । तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ ।
हरिशयनी एकादशीमा पूजा अर्चना र व्रत बस्नाले सम्पूर्ण पापको मोचन हुने र सुकर्म फल प्राप्त हुने विश्वास रहिआएको छ । ‘भविष्योत्तर’ पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम यो एकादशीको महिमा भगवान् ब्रह्माले नारदजीलाई भनेको र पछि युधिष्ठिरले भगवान् कृष्णलाई पनि सुनाएको उल्लेख छ ।
