काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूके शाखाले दुई जना पत्रकारलाई पुरस्कृत गरेको छ । ‘फोनिज यूके पत्रकारिता सम्मान-२०२२’ बाट काठमाडौं पोष्टकर्मी टीकाराम प्रधान र ‘फोनिज यूके पत्रकारिता पुरस्कार-२०२२’ बाट पत्रकार निलिफा सुब्बालाई पुरस्कृत गरेको हो ।
काठमाडौंमा शुक्रबार भएको एक समारोहमा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले पत्रकार प्रधान र सुब्बालाई पुरस्कृत गरेका हुन् । सम्मान र पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ रहेको छ ।
फोनिज यूकेले सञ्चारक्षेत्रबाट आदिवासी जनजाति समुदायको विकासका लागि कलम चलाउँदै आएका पत्रकारहरुलाई हरेक वर्ष सम्मान र पुरस्कार प्रदान गर्दै आएको छ ।
निलिफा धरान निवासी सुब्बा बेलायतबाट प्रसारित बिएसबिएफ गोर्खा रेडियोसँग आबद्ध छन् । उनी फोनिज प्रदेश नम्बर १ को सल्लाहकार पनि हुन् । त्यस्तै कान्तिपुर पब्लिकेशनको अंग्रेजी दैनिक काठमाण्डु पोष्टसँग आबद्ध प्रधान फोनिजका पूर्व केन्द्रीय कोषाध्यक्ष पनि हुन् ।
फोनिज संघीय समितिद्वारा आयोजित पुरस्कार वितरण समारोहमा बोल्दै आदिवासी जनजाति आयोगका अध्यक्ष थापा मगरले आदिवासी जनजातिहरूको हकहित र अधिकार सुनिश्चितताका लागि फोनिजकर्मीहरुको ठूलो भूमिका रहेको बताए । विभिन्न समयमा भएको आदिवासी जनजाति आन्दोलनको उपलब्धि रक्षाका लागि अझै पनि संघर्ष गर्न आवश्यक रहेको उनले बताए ।
त्यस्तै नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले पुरस्कारले आदिवासी जनजातिको मुद्दामा कलम चलाउने पत्रकारहरूलाई प्रोत्साहन मिल्ने र आदिवासी जनजाति आन्दोलनलाई पनि सहयोग पुग्ने बताए ।
