काठमाडौं । दाङमा सुस्त मनस्थिति भएकी एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । तुलसीपुर उपमहानगरपालिका—५ बस्ने युवतीमाथि
चार जना युवाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको हो । बिहीबार राति तुलसीपुर उपमहानगरपालिका(९ दोघरेस्थित नयाँ बन्न लागेको एउटा घरमा युवतीमाथि बलात्कार भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सुरेशप्रसाद काफ्लेले बताए ।
घटनामा संलग्न भएको आरोपमा तुलसीपुर—५ का २४ वर्षीय शंकर विक र २३ वर्षीय कमल चौधरी पक्राउ परेका छन् । अन्य दुई जना भने फरार छन् । उनीहरूको खोजी कार्य भइरहेको एसपी काफ्लेले बताए ।
प्रहरीले युवाको समूहले युवतीलाई फकाएर एकान्तमा लगेर सामूहिक बलात्कार गरेको बताएको छ । पीडित युवतीले घरमा गएर बताएपछि प्रहरीले शुक्रबारमात्र घटनाको बारेमा जानकारी पाएको थियो । पीडित युवतीको तुलसीपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
