जेठ १२ , काठमाडौं । नेकपा माअोवादी केन्द्रका अध्यक्ष प्रचण्ड ले विश्वशान्तिका अग्रदूत गौतम बुद्धको २५६५ औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशका बौद्धधर्मावलम्बी, शान्ति र अहिंसाप्रेमी सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन।
“बृहद् जनसमुदायको भावना र आकांक्षा विपरित सानो वर्ग, समूह र झुण्डको स्वार्थ हितले २१ औं शताब्दीको विचार, भावना र चेतनालाई दर्शाउँदैन । पुरातनवादी विचार र चेतनाका विरुद्ध गौतम बुद्धले गरेको विद्रोह जसरी प्रतिगमनकारी सोच, चिन्तन र प्रवृत्तिका विरुद्ध संघर्षमा उत्रिनु परिवर्तनकामी सम्पूर्ण शक्तिका सामु आज एक मात्र विकल्प रहेको छ । त्यसका लागि संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर अग्रगामी शक्तिहरु एकजुट भई प्रतिगामी प्रवृत्ति विरुद्ध संघर्षका लागि आग्रह गर्दछु ।”
शान्तिदूत गौतम बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव¸सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकता सुदृढ हुनाका साथै विश्विशान्तिका लागि समेत मद्दत पुग्ने विश्वास अध्यक्ष दाहालले व्यक्त गरेका छन । सम्पूर्ण विश्वयले कोभिड-१९ का महामारीबाट शीघ्रातिशीघ्र उन्मुक्ति पाउने आशा व्यक्त गर्दै दाहालले बुद्धजयन्तीका अवसरले नेपालीको राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सबैलाई अभिप्रेरित गर्न सकोस् भन्ने कामना पनि गरेका छन ।
त्यस्तै,अध्यक्ष प्रचण्डले किराँत समुदायको महान् पर्व उभौलीका शुभअवसरमा आजै स्वदेश तथा विदेशका राई, लिम्बू, याक्खा, सुनुवारलगायत सम्पूर्ण किराँत दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन । उभौलीले सम्पूर्ण नेपालीबीच आपसी एकता, सहयोग र सद्भाव अभिवृद्धि गरी सभ्य, सुसंस्कृत र समृद्ध समाज निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भनेका छन।

