काठमाडौं । महिला हिंसाविरुद्ध देशभर आवाज उठिरहेका बेला राजधानीमै युवतीले सामूहिक बलात्कारमा परेँ भन्दै फोन गरेपछि प्रहरी अधिकृतहरुले तत्काल काठमाडौं प्रहरी परिसर, टेकु र बौद्धका डीएसपी ढुण्डिराज न्यौपानेलाई जानकारी गराए ।
बिहान साढे ३ बजेतिर प्रहरी कन्ट्रोल १०० मा एक युवतीको फोन आयो, युवतीले भनिन् ‘ममाथि तीन जनाले बलात्कार गरे ।’
युवतीका अनुसार उनीमाथि बिहान साढे २ बजेपछि बलात्कार भएको थियो । फोन आए लगत्तै प्रहरी घटना भएको भनिएको बौद्धस्थित लुङ्ता गेस्ट हाउसको तेस्रो तलामा पुग्दा उनले भनेका युवा थिएनन् । २४ वर्षीया पीडित युवती चाहिँ विक्षिप्त अवस्थामा बसिरहेकी थिइन् ।
प्रहरीले लगत्तै होटलका सञ्चालक आङ्निमा भन्ने झ्याम्पा ढिल्ले शेर्पालाई बोलाएर सोधपुछ गर्यो । ‘युवतीले उनलाई बलात्कार भएको बताए पनि उनले एक जनालाई भाग्न दिएको खुल्यो’ काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनाली भन्छन्, ‘त्यसपछि उनलाई पनि पक्राउ गर्यौं ।’
लगत्तै उनको बयान र होटलमा भएको क्लोज सर्किट (सीसी) क्यामरा फुटेजमार्फत प्रहरीले घटनाबारे अनुसन्धान थाल्यो । पीडितलाई थापाथलीस्थित प्रसुति गृहमा लगेर स्वास्थ्य परीक्षण गरायो ।
रातभर मापसे, बिहान सामूहिक बलात्कार
प्रहरीले घटना भएको १६ घन्टाभित्रमा घटनामा संलग्न रहेको आरोपमा काठमाडौंका २४ वर्षीय रितेश तामाङ, सिन्धुपाल्चोक मेलम्ची–२ घर भइ बौद्ध बस्ने २२ वर्षीय रिञ्जेन शेर्पा र सर्लाहीको बागमती नगरपालिका–४ घर भइ बौद्ध बस्ने ३४ वर्षीया उत्तम लामालाई पक्राउ गरेको छ ।
एसपी मैनालीका अनुसार पक्राउ परेका तीन जनासहित अर्का एकजना युवक शनिबार राति रमाइलो गर्न भन्दै बौद्धबाट निस्किएका थिए । अवेरसम्म दरबारमार्ग मधुशाला रेष्ट्रो एण्ड बारमा बसेका उनीहरु मध्ये दुईजना राति किङ्स लाउन्जमा गए । त्यही दुई जना युवतीसँग उनीहरुको भेट भयो ।
‘दुईजना मध्ये एकजना कता गइन्, राति पीडित युवती एक्लै भइन्’ अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘उनी एक्लै भएपछि पक्राउ परेका मध्ये रिञ्जेन शेर्पाले घर पु¥याइदिन्छु भनेका रहेछन् ।’ प्रहरीका अनुसार त्यसपछि युवतीलाई ट्याक्सीमा हालेर उनी निस्किएका थिए ।
तर पीडित युवतीको भनाइ अनुसार शेर्पाले राति घरको ढोका पनि नखुल्ने भएकाले बाहिरै कतै बस्न कर गरेका थिए । ‘केही हुँदैन, उज्यालो भएपछि जाँदा हुन्छ भनेर धेरै नै भनेपछि म उसले भनेको ठाउँमा गएको थिएँ’ पीडित युवतीले भनेकी छन् ।
शेर्पाले उनलाई सिधै लुङ्ता गेस्ट हाउसमा लगेका थिए । तर सुरुमा सञ्चालकले कोठा नभएको भन्दै फर्काइदिएका थिए । ‘तीन जनामध्ये एकजनाको सञ्चालकसँग चिनजान रहेछ, त्यसपछि शेर्पाले कोठा भनिदिन भन्दै साथीलाई फोन गरेर बोलाए’ अनुसन्धानमा संलग्न अधिकृत भन्छन् ।
साथी आएपछि उनीहरु कोठा लिएर बसेका थिए । त्यसको झण्डै ४५ मिनेटपछि अर्का साथी पनि उनीहरुको कोठामा प्रवेश गरे ।
‘मादक पदार्थ समेत सेवन गरेका उनीहरुले पालैपिलो त्यहाँ युवतीलाई बलात्कार गरेछन्’ प्रहरी स्रोतले भन्छ, ‘तीनजनाले बलात्कार गरेपछि उनले पछि मोबाइलबाट प्रहरी कन्ट्रोलमा फोन गरेर बलात्कार भएको बताएकी थिइन् ।’
