काठमाडौं । यौनिक तथा लैंगिक अल्पसंख्यकले काठमाडौंमा शनिबार ‘नेपाल प्राइड परेड’ यात्रा गरेका छन् । क्वायर युथ ग्रुप र क्वायर राइट कलेक्टिभको आयोजनामा सो गौरवयात्रा निकालिएको हो ।
गौरवयात्रामा नेपाल सिमान्तकृत यौन अभिमुखीकरण, लैंगिक पहिचान, तथा यौन विशेषताका व्यक्तिहरू सहभागी थिए ।

शनिबार राजधानीको माइतीघर मण्डलबाट सुरू भएको गौरव र्याली बानेश्वरमा पुगी समापन भएको थियो । विश्वभर जुन महिनामा ‘प्राइड परेड’ भनी ती समुदायले गौरवयात्रा मनाउँछन् ।

विशेषतः सन् १९६९ जुन महिनामा न्यूयोर्कको स्टोनवाल दंगापछि यो गौरव यात्रा मनाइन सुरु गरिएको हो । उक्त वर्ष जुन २८ मा यौनिक तथा लैंगिक अल्पसंख्यकमाथि प्रहरी छापाका नाममा आक्रमण भएपछि त्यसको प्रतिकार स्वरूप विभिन्न प्रदर्शन भएको थियो । यही प्राइड परेडका सम्झनामा विश्वभर जुन महिनामा ‘प्राइड परेड’का नाममा कार्यक्रमहरू गरिन्छ ।
