काठमाडौं । अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका कमान्डिङ जनरल चार्ल्स ए फ्लिन बिहीबार (आज) मध्यान्ह नेपाल आइपुगेका छन् ।
नेपाली सेनाका उच्च अधिकारीले फ्लिनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार दिउँसो स्वागत गरेका छन् । उनी चारदिने भारत भ्रमण सकेर बिहीबार नेपाल आइपुगेका हुन् ।
नेपाल आउनुअघि उनले बिहीबारै बिहान कोलकातास्थित भारतीय सेनाको पूर्वी कमान्डको अवलोकन भ्रमण गरेका थिए । उनी अमेरिकी सेनाको बिशेष विमानबाट नेपाल उत्रिएका हुन् । नेपाली सेनाका अनुसार कमान्डिङ जनरल फ्लिन चार दिन नेपालमा रहनेछन्।
सैनिक प्रवक्ता नारायण सिलवालले अमेरिकी सैन्य अधिकारी सद्भावना भ्रमणमा नेपाल आएको बताए । फ्लिनले शुक्रबार प्रधानसेनापति प्रभुराम शर्मासँग सैनिक मुख्यालयमा भेटवार्ता गर्ने तय भएको उनको भनाई छ ।
प्रधानमन्त्री देउवाको निकट भविष्यमा हुने अमेरिका भ्रमणअघि अमेरिकी सैन्य अधिकारीको भ्रमण भएको हो । देउवाभन्दा अघि प्रधानसेनापति शर्मा अमेरिका भ्रमणमा जाने भएका छन् ।
