काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर भोलिदेखि बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा विसर्जन गर्नेबारे सहमति भएको छ ।
सोमबार शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको रोहबरमा मन्त्रालयमा बसेको सर्वपक्षीय छलफलमा काठमाडौंको फोहर उठाएर बन्चरेडाँडा लैजाने सहमति जुटेको हो ।
सहमतिपत्रमा शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका तर्फबाट संयुक्त हस्ताक्षर गरिएको छ ।
शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले स्थायी रूपमा नै फोहोर व्यवस्थापनको समस्या समाधान गर्ने बाटो खोजिएको बताएकि छन् ।

