खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयको शिक्षालाई सुधार गर्ने योजना तयारी गरिएको छ । नगर प्रमुख विमला राईको अध्यक्षतामा बुधबार बसेको शिक्षा शाखा समितिको बैठकमा सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने तयारी गरिएको हो ।
सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट के कसरी पठनपाठन गर्न सकिन्छ भन्ने विषयमा छलफलका लागि आज नगरपालिकाको १२ वटै बिद्यालयका प्रधानाध्याप, विव्यस अध्यक्ष र सबै वडाका वडाध्यक्षहरुलाई अन्तरक्रिया गरिने नगरपालिकाले जनाएको छ भने यस शैक्षिक सत्रमा कक्षा १ बाट सुरु गरि क्रमिक रुपमा बढाउदै लैजाने मेयर राईले बाताएकी छन ।
त्यस्तै, अति न्यून विद्यार्थी भएका विद्यालयको समायोजन, कक्षा घटुवा गर्ने साथै बढी विद्यार्थी भएका विद्यालयमा कक्षा थप एवं शिक्षक व्यवस्थापन गर्ने निर्णय गरिएको छ ।
शैक्षिक गुणस्तर सुधारका लागि शिक्षा शाखा र प्र.अ. वीच कार्य सम्पादन करार सम्झौता गर्ने, यथाशीघ्र वडा समितिहरु पुनर्गठन गर्ने र सबै विद्यालयको प्रत्येक कक्षामा लग बुक अनिवार्य लागू गर्ने निणर्य समेत बैठकले गरेको शिक्षा शाखा संयोजक पदम बहादुर कार्कीले बताएको छ ।
