खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख तीर्थराज भट्टराई तथा प्रमुख प्रशासकीय अधिकृत नीलमकुमार न्यौपाने सहितले जिल्ला कारागारको अनुगमन गरेका छन् ।
कारागारभित्रका भौतिक स्थिति, कैदीबन्दीको स्वास्थ्य स्थिति लगायतको अनुगमनमा पुगेका नगरप्रमुख भट्टराईले कैदीबन्दीको स्वास्थ्य समस्या, खानेपानी, भान्साघर, सुत्ने कोठा, शौचालय, पुस्तकालयको अनुगमन गरेका हुन्।
अनुगमनपछि आयोजना गरिएको कार्यक्रममा कारागारभित्र मन्दिर, खानेपानीका लागि पाइप र हिलट्याङ्की, खेलकुद सामाग्री, जस्तापाता र पुस्तकालयका लागि विभिन्न प्रकारका अध्ययनशिल पुस्तक आवश्यक रहेको कैदीबन्दी तथा कारागारको माग गरेका थिए ।
मन्दिर निर्माण र पानी चुहिने ठाउँमा लगाउने जस्तापाताका लागि नयाँ आर्थिक वर्षमा बजेट व्यवस्थापन गर्ने, पाइप र हिलट्याङ्की हप्तादिनभित्र उपलब्ध गराउने, खेलकुद सामग्रीका लागि जिल्ला खेलकुद विकास समितिको कार्यालयसँग सहकार्य गर्ने र पुस्तकहरु उपलब्ध गराउँदै जाने नगरप्रमुख भट्टराईले बताए। कारागारको महिला ब्लगका अधिकांश भवनहरु चिराचिरा भएकोमा भने कारागार व्यवस्थापन विभागमा पत्राचार गरिने उनको भनाई छ।
६६ जना पुरुष र ३३ जना महिला गरी ९९ जना अटाउने क्षमता भएको जिल्ला कारागारमा १३१ जना कैदीबन्दी छन्। जसमा एक नाबालिकासहित ६ जना महिला र १२५ जना पुरुष कैदीबन्दी रहेको छ। कैदीबन्दीका लागि नियमित तथा अन्य औषधि अभाव भएमा नगरपालिकाको सहयोग रहने प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताए।
