काठमाडौँ । दुर्घटनामा हराइरहेको एउटा शव पनि फेला परेको छ ।
मुस्ताङमा आइतबार भएको विमान दुर्घटनामा २२ जनाको मृत्यु भएको थियो । सोमबारसम्म २१ जनाको शव भेटिएकोमा मंगलबार बिहान थप १ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी रामकुमार दानी बताए ।
‘खोँचमा अड्किरहेको अवस्थामा बाँकी शव फेला परेको छ,’ उनले भने । दानीका अनुसार थासाङ–२ को सानसुरेमा रहेको घटनास्थलबाट १० वटा शव कोबाङ ल्याइएको छ ।
खराब मौसमका कारण समाचार तयार पार्दासम्म २ वटा शव घटनास्थलमा नै रहेको छ । ‘बाँकी दुईवटा शव ल्याएपछि १२ वटा नै शव काठमाडौँ लग्ने तयारी गरेका छौँ,’ उनले भने । सोमबार १० वटा शव काठमाडौँ ल्याइसकिएको छ ।
