खोटाङ । खोटाङलाई पुर्वी शहरसँग जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा राखिएको अस्थायी बेलिब्रिज हटाइएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा गत १ पुसदेखि सञ्चालनमा ल्याइएको बेलिब्रिज वर्षा सुरुसँगै झिकिएको हो ।
गाईघाट–दिक्तेल सडक आयोजनाको ६८ लाखमा रेग्मी–भानुमती–चौधरी जेभीले ९ जेठदेखि १५ जेठसम्म लगाएर बेलिब्रिज हटाएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इन्जिनियर (डिई) गोपाल खकुरेलले बताए ।
रेग्मी–भानुमती–चौधरी जेभीले बेलिब्रज हाल्ने र झिक्ने ठेक्का लिएको थियो । दिक्तेल–गाईघाट सगरमाथा राजमार्ग (१०१ किलोमिटर) अन्तरगत पर्ने फोक्सिङटारमा ‘आर्क’ डिजाईनको पुल निर्माणमा ढिलाइ हुँदा विगत ६ वर्षदेखि बेलिब्रिज राख्ने गरिएको छ ।
३ वर्षअघि मोटरेबल पुल बनिसक्नु पर्ने फोक्सिङटारमा हिउँदभरी सञ्चालन गर्ने र वर्षामा झिक्नेगरी अस्थायी बेलिब्रिज राख्ने गरिएको छ । निर्धारित समयमा पुलको काम सम्पन्न नहुँदा फोक्सिङटारमा बेलिब्रिज राख्ने र हटाउने शिर्षकमै नेपाल सरकारको करोडौं खर्च भइरहेको छ ।
निर्माण कम्पनी गौरी पार्वती वाईपी जेभीको ढिलासुस्तीका कारण दुई पटक म्याद गुज्रदा समेत १२० मिटर लम्बाई हुने पुलको काम पुरा हुन सकेको छैन । दिक्तेल–गाईघाट सिधा यातायात बन्द ५० मिटर लम्बाई भएको सो बेलिब्रिज निकालेपछि दिक्तेल–गाईघाट सिधा यातायात बन्द भएको छ ।
बेलिब्रिज नहुँदा कम्तीमा ६ महिनाका लागि दिक्तेलबाट सिधै गाईघाट हुँदै धरान, बिराटनगर लगायतका शहर जाने दोश्रो र छोटो बाटो बन्द भएको हो । बेलिब्रिज हटाइएसँगै जिल्लावासी दिक्तेलबाट घुर्मी कटारी हुँदै पुर्वी शहर आउन र जान थालेका छन् ।
उपभोग्यवस्तु पुर्वी तराईबाट गाईघाट हुँदै भित्रिने गरेकामा पुःन कटारी–घुर्मीको बाटो हुँदै भित्र्याउन थालिएको छ । फोक्सिङटारमा २०७३ सालदेखि निर्माण सुरु गरिएको पक्की पुल निर्माण भए बार्हैमास दिक्तेलबाट पुर्वी शहर आउ–जाउ गर्ने छोटो र स्थायी मार्ग खुल्ने छ ।
पुल निर्माणमा भएको ढिलासुस्ती अशर अन्य विकास निर्माणमा समेत परेको छ । २२ चैत २०७३ सम्ममा सम्पन्न गर्नेगरी २३ चैत २०६९ मा सम्झौता भएको पुलको २०७३ साल कात्तिकमा डिजाईन परिवर्तन गरेर काम अघि बढाइएको थियो ।
तर, २२ चैत २०७३ सम्ममा पुलको काम नभएपछि पुःन ३० चैत २०७५ सम्मका लागि सम्झौता अवधिलाई लम्व्याइएको थियो । नवौं संशोधन अनुसार पुल निर्माणका लागि १३ पुस २०७७ सम्मको पहिलो म्याद सकिएपछि पुःन कोभिड–१९ को महामारी अनुसार गत १२ असारसम्मका लागि दोश्रो पटक म्याद थप भएको थियो ।
फोक्सिङटारमा सुरुमा ‘ससपेन्सन ब्रिज’ निर्माणका लागि ठेक्का लागेको थियो, तर त्यसको सट्टा ‘आर्क’ डिजाईनको पुल निर्माण गर्ने भन्दै २०७३ साल कात्तिकमा डिजाईन परिवर्तन गरिएको थियो ।
