काठमाडौं । तारा एयरको विमान दुर्घटनास्थलमा नेपाली सेना र नेपाल प्रहरीको टोली पुगेको छ । आइतबार सम्पर्कविहीन भएको विमान सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका २ मा भेटिएको थियो ।
स्थानीयले खबर गरेपछि नेपाली सेना र प्रहरीको टोली घटनास्थल पुगेको हो । त्यहाँ पुगेका उद्धारकर्मीले जहाज पुरै टुक्राटुक्रा अवस्थामा छ भने कोही पनि यात्रु ज्युँदो नरहेको बताएका छन् ।
नेपाली सेनाको विजयपुर ब्यारेकका प्रमुख सेनानी प्रेम पौडेलका अनुसार अहिले सबैले शव संकलन गरिरहेको र दुर्घटनामा परी मृत्यु भएकाहरूको शव सिधै काठमाडौं ल्याइने छ ।
हुस्सु र कुहिरोका कारण अझै हेलिकोप्टर राम्रोसँग उड्ने अवस्था नरहेको उनको भनाई छ । सेनाका १ जना र प्रहरीका १ जनालाई हेलिकोप्टर मार्फत झारिएको हो । चालक दलका तीन सहित २२ जना सवार जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका २ को सानोसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।
