दिक्तेल।खाेटाङमा विद्यालय जाँदै गरेकी बालिकालाई बलात्कार प्रयास गर्ने अभियुक्त बिरुद्ध जाहेरी दर्ता भएको छ । विद्यालय जाँदै गरेकी ९ वर्षीय बालिकालाई बलात्कारको प्रयास गर्ने खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका ३० वर्षीय भुवनकुमार प्रधान विरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दर्ता भएको हो ।
बिक थरकी पिडित बालिकाकी आमा र ठूलीआमाले शुक्रबार दिक्तेल पुगेर पिडक बिरुद्ध जाहेरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक एवं सुचना अधिकारी शंकरप्रसाद चौधरीले बताए ।
कक्षा ५ मा अध्ययनरत बालिका विद्यालय जाँदै गरेको अवस्थामा ११ जेठमा आफ्नै घर नजिकै यौन दुव्र्यवहारको शिकार भएकी थिईन् । चिच्याएर प्रतिकार गरेपछि बालिका बलात्कारबाट जोगिन सफल भएको स्थानीयले बताएका छन् ।
आरोपित फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । पिडकलाई तत्काल पक्राउ गरी कानुनी कठघरामा उभ्याउनका लागि भन्दै दिपक ठटाल नेतृत्वको अधिकारकर्मीको टोली शनिबार जिल्ला प्रहरी कार्यालय पुगेको थियो ।
स्थानीयका अनुसार छात्राको आमा आफन्तकोमा खेताला गएकी थिईन् । उनका दाजु हातखुट्टा धुन धारामा गएपछि बालिका भने विद्यालय जाँदै थिईन् । बाटोमा भुवनले रुखबाट स्याउला झारिरहेका थिए ।
बालिकालाई देखेपछि भुवनले पर्खन लगाएर नजिकै खोल्सीमा लगेर बलात्कार प्रयास गरेको आफन्तले बताएका छन् । कपडा र पेन्टको टाँक खोल्न खोज्दा बालिकाले चिच्याएर प्रतिकार गरेकी थिईन् तर चिच्याउँदा आरोपितले बालिकाको मुख थुनिदिएको पिडितको भनाई छ । रोइकराई गरेपछि फुत्किन सफल भएकी बालिका रुँदै घर फर्किएर आमालाई जानकारी दिएपछि घटना बाहिर सार्वजनिक भएको हो ।
घटना लगत्तै पिडित बालिकाको परिवारले आवाज उठाएपछि तत्कालै गाउँमा पिडक र पिडित पक्ष राखेर माफ मगाएर मिलापत्र गराइएको थियो । तर अन्य आफन्तको सल्लाहमा पिडित परिवार इलाका प्रहरी कार्यालय खोटाङबजारमा जाहेरी दिन पुगेका थिए । आरोपितले यसअघि पिडित बालिकाकी दिदिलाई समेत यौन दुव्र्यवहार गरेको आफन्तले दावी गरेका छन् । nepalwide.comबाट साभार
