खोटाङ। खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा पुनः दुई जनामा कालाजार संक्रमण पूष्टि भएको छ। कालाजार नियन्त्रण र उपचार सम्बन्धी सोमबार बाहुनीडाँडामा गरिएको केस वेस सर्भिलेन्स कार्यक्रममा रक्त परीक्षण गर्दा दुई जनामा कालाजार देखिएको हो।
हलेसी तुवाचुङ नगरपालिका स्वास्थ्य शाखाको समन्वय र जिल्ला अस्पतालको आयोजनामा त्यहाँ स्थलगत रुपमा सय जनाको रक्त नमुना संकलन गरेर आरडिटी विधिबाट परीक्षण गर्दा दुई जनामा कालाजार संक्रमण पूष्टि भएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक खेमराज आचार्यले जानकारी दिए।
आचार्यका अनुसार कालाजार संक्रमितलाई जनही दुई हजार यातायात खर्च उपलब्ध गराएर जिल्ला अस्पताल पठाउने र निःशुल्क औषधि दिने व्यवस्था मिलाईएको छ।
यसअघि, चैत्रको दोश्रो हप्ता जयरामघाट, झाप्पा र कदुवा तीन ठाउँ गरी २४७ जनाको रक्त नुमना संकलन गरेर आरडिटी विधिबाट परीक्षण गर्दा ४ जनामा कालाजार देखिएको थियो।
बाहुनीडाँडामा कालाजारका बिरामी भेटिन थालेपछि त्यसबाट संक्रमित बिरामीको पहिचान गर्दै उपचार गर्ने व्यवस्थाका लागि केस वेस सर्भिलेन्स कार्यक्रम राखिएको जिल्ला अस्पतालका डा. बैभव मल्लिकले बताए।
कालाजार संक्रमितलाई टोकेको भुसुनाले अन्यलाई टोक्दा यो रोग सर्ने गर्दछ। कालाजार लागेपछि लामो अवधि ज्वरो आउने, शरीर कमजोर हुंदै जाने, थकाई धेरै लाग्ने, खाना नरुच्ने, लामो समयपछि कहिलेकाही पेट सुन्निने गर्दछ। samayojankhabar बाट साभार
