कपिलवस्तु । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले एक वर्षभित्र गाउँब्लकको जग्गा सम्बन्धी सबै समस्या समाधान गरेर लालपुर्जा वितरण गरिसक्ने गरी योजना बनाएर काम अगाडी बढेको बताएकी छन् । कपिलवस्तुको सुद्धोधन नगरपालिका वडा नं. ६ को गाउँब्लकमा रहेका ८२ घरपरिवारलाई बुधबार जग्गाधनी दर्ता प्रमाण पूूर्जा (लालपुर्जा) वितरण गर्दै मन्त्री श्रेष्ठले गाउँब्लकमा रहेका सबै नागरिकले छिटो लालपुर्जा प्राप्त गरुन भनेर विशेष अभियान मार्फत कामलाई तिब्र पारिएको बताइन् ।
मन्त्री श्रेष्ठले यसअघि योजनामा नै नरहेको गाउँब्लकमा लालपुर्जा वितरणको कामलाई आफूले मन्त्रालय सम्हालेपछि पहिलो प्राथमिकतामा राखेर आगाडि बढाएका कारण ४ महिनाको अवधिमा विभिन्न ठाउँका गाउँब्लकमा रहेका २० हजार भन्दाबढी भूमिहीनलाई लालपुर्जा वितरण गरिएको बताइन् ।
भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोग मार्फत काम शुरु गरिसकेको र छिट्टै जिल्ला आयोग गठनको काम सम्पन्न हुने भन्दै बारम्बार उठिरहने भूमि सम्बन्धी समस्यालाई दिगो रुपमा नै समाधान गर्न आफू लागिरहेको बताइन् । मन्त्री श्रेष्ठले हलीया, हरवा, चरवा, कमैया, कमलरीको समस्या समाधान गर्न अध्ययन समितिले स्थानीय तह, प्रदेश र संघले गर्ने काम समेटेर प्रतिवेदन तयार पारिराखेको र सोही प्रतिवेदनका आधारमा छिट्टै काम शुरु गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
