खोटाङ । विषादि मिसिएको पानी पिउँदा खोटाङमा तीन विद्यार्थी बिरामी परेका छन् । विद्यालयमा जारमा राखिएको पानी पिउँदा हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित दाम्ली माबिका कक्षा ८ मा अध्ययनरत छात्र दविन राई, कक्षा ९ मा अध्ययनरत छात्रा प्रनिसा कुँवर र उर्मिला बिक विरामी परेका हुन् ।
विषादि मिसिएको पानी पिउँदा बिरामी परेका राई र बिकको उदयपुरको घुर्मीस्थित एक निजी अस्पतालमा र कुवँरको ओखलढुंगाको मिसन अस्पतालमा उपचार भइरहेको छ । बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको दाम्ली माबिका प्रअ गमराज राईले बताए ।
विद्यालयका परिचरले सोमबार बिहान सँधैझैं धाराबाट एक जार पानी ल्याएर राखेका थिए । विद्यालयमा पहिलो जारको पानी सकिएपछि दोश्रो जार पानी ल्याइएको थियो । त्यो पानी केही छात्रले पिएका थिए ।
त्यसपछि पानी पिउन गएका तीन छात्र/छात्रा बिरामी परेको हो । पानी दुधिलो भएको र मेटासिटको गन्ध आएकाले पानीमा विष मिसाइएको अनुमान गरिएको डिकुवाका वडाध्यक्ष हरिकुमार खड्काले बताए । एउटै जारको पानी अगाडि पिउनेलाई केही नहुनु र पछाडि पिउने छात्र/छात्रा विरामी पर्नुमा बिचमा विषादि मिसाइएको अनुमान गरिएको छ ।
पानीमा विषाक्त वस्तु मिसिएको आशंकापछि विद्यार्थीलाई स्वास्थ्यचौकीमा लगेर प्राथमिक गरेर अस्पताल लगिएको हो । प्राथमिक उपचारका क्रममा छात्र/छात्राले बान्ता गरेका थिए ।
पानीमा विषादि मिसिएको आंशकामा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए । विषादियुक्त पानीका कारण छात्र/छात्रा बिरामी परेको जानकारी पाएपछि हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई लगायत दाम्ली मावि पुगेका थिए । nepalhttps://nepalwide.com/
