प्रेम श्रेष्ठ, खोटाङ । खोटाङको रावाबेसी गाउँपालिकाका २ स्थानमा एकै साथ टेलिफोन टावर संचालनमा आए पछि संचारसेवा सहज भएको छ ।गाउँपालिकाको वडा नम्बर २ खार्पा र ५ दुबेकोलमा नेपाल टेलिकमको दुई वटा टावर सञ्चालनमा आएसँगै सो क्षेत्रका नागरिकमा संचारको पहुँच पुगेको पालिका अध्यक्ष लिलानाथ निरौलाले बताए ।
टावर संचालनमा नआउँदा गाउँपालिका केन्द्र नै टेलिफोन नेटवर्क विहीन बनेको र दुर दराजका नागरिक समेत संचारबाट बन्चित भएको अवस्थामा आफ्नो अथक मेहेनत पछि दुई टावर संचालनमा आएको अध्यक्ष निरौलाले बताए ।
गाउँपालिकामा टावर सञ्चालन गर्न आवश्यक सहयोगसँगै बारम्बार ताकेता गर्दा लामो प्रतिक्षा पश्चात टावर सञ्चालनमा आएको रावाबेसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाको भनाई छ । ६ वटा वडा रहको गाउँपालिकाको सबै वडाको तल्लो क्षेत्रका नागरिक यसअघि मोबाइलमा नेटवर्क खोज्दै डाँडाकाँडा जाने गरेका थिए ।
टु जी र फोरजी सेवा जडित टावर संचालनमा आएसँगै पालिकामा टेलिफोन र ईन्टरनेट सेवा उपभोगमा सहजता आउने नेपाल टेलिकम ओखंल्ढुंगाका प्रमुख दिनेशचन्द्र पन्थिले जानकारी दिए ।
