हेटौंडा । एक उपमहानगरपालिका, एक नगरपालिका र ८ गाउँपालिका गरी १० वटा स्थानीय तह रहेको मकवानपुरमा २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेको उपस्थिति बलियो थियो । नेकपा एमालेले ६ वटा स्थानीय तहको प्रमुखमा र ८ स्थानीय तहको उपप्रमुख पदमा जित हासिल गर्न सफल भएको थियो ।
नेकपा एमालेले २०७४ मा मकवानपुरको हेटौंडा उपमहानगरपालिका सहित मनहरी गाउँपालिका, कैलाश गाउँपालिका, भीमफेदी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका, मकवानपुरगढी गाउँपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा जित निकालेको थियो भने बकैया गाउँपालिका र बागमती गाउँपालिकामा उपप्रमुख पदमा चित्त बुझएको थियो ।
बकैया गाउँपालिकामा भने एमालेको दबदबा चिर्दै काँग्रेसका दामोदार खनालले जित हात पारेका थिए । उनले खसेकाे कुल मत १३८८९ बाट ४ हजार ५४४ मत प्राप्त गरेका थिए । सो निर्वाचनमा एमालेका दलबहादुर वाइवा खसेकाे कुल मत १३८८९ बाट ४ हजार ४७२ मत सहित दोस्रो स्थानमा सीमित भए । माओवादी केन्द्रका भक्तबहादुर खत्री खसेकाे कुल मत १३८८९ बाट ३ हजार १९९ मतकाख साथ तेस्रो र राप्रपाकी लक्ष्मी जिम्बा खसेकाे कुल मत १३८८९ बाट १ हजार ६६३ मतका साथ चौथो स्थानमा रहिन् । बाबुराम भट्टराईको तत्कालीन नयाँ शक्ति नेपाल पार्टीका नवराज चौलागाईले ११ मत प्राप्त गर्दै अन्तिम स्थानमा सीमित रहे ।
पालिका उपप्रमुखमा भने बकैयामा एमालेकी सरला बोलखेले बाजी मारिन् । उनले खसेकाे कुल मत १३८५३ बाट ४ हजार ६६३ मत प्राप्त गर्दै काँग्रेसकी कमला कुमारी वाइवालाई दोस्रो स्थानमा राख्न सफल भएकी थिइन् । वाइवाले खसेकाे कुल मत १३८५३ बाट ४ हजार ४७२ मत प्राप्त गरेकी थिइन् । माओवादी केन्द्रकी लक्ष्मी गोले खसेकाे कुल मत मध्य १३८५३ बाट ३ हजार ६१ मतका साथ तेस्रो र राप्रपाका धुव्रनारायण घिमिरे खसेकाे कुल मत १३८५३ बाट १ हजार ६५७ मतका साथ चौथो स्थानमा रहे ।
मकवानपुरगढी गाउँपालिका :-
२०७४ सालको निर्वाचनमा मकवानपुरगढी गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवैमा एमालेको वर्चश्व कायम रह्यो । दुवै पदमा एमालेका उम्मेदवारले काँग्रेसका उम्मेदवारलाई पछि पारेका थिए । पालिका अध्यक्षमा एमालेका विदुर हुमागाईले खसेकाे कुल मत ७४६७ बाट ३ हजार ८१४ मतका साथ काँग्रेसका दोर्जे लामा स्या्तानलाई हराएका थिए । स्याङ्तानले खसेकाे कुल मत ७४६७ बाट ३ हजार ६५३ मत प्राप्त गरेका थिए ।
पालिका उपाध्यक्षमा पनि एमालेकी हर्कमाया रुम्बाले जित हात पारिन् । उनले खसेकाे कुल मत ९९२१ बाट ३ हजार ७१७ मत पाएकी थिइन् । उनकी निकटतम प्रतिस्पर्धी काँग्रेसकी मन्दिरा केसी खसेकाे कुल मत ९९२१ बाट ३ हजार ७०७ मत पाउँदै दोस्रो, माओवादी केन्द्रकी राधिका तिमल्सिना खसेकाे कुल मत ९९२१ बाट १ हजार ५९९ मतसहित तेस्रो र राप्रपाकी हिरादेवी हुमागाई ८९८ मतसहित चौथो भइन् ।
भीमफेदी गाउँपालिका :-
२०७४ मा भीमफेदी गाउँपालिकामा पनि एमालेकै बर्चश्व रह्यो । सो गाउँपालिकामा एमालेविरुद्ध काँग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल हुँदासमेत पालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा एमालेका उम्मेदवारले बाजी मार्न सफल भएका थिए । अध्यक्षमा हिदम लामा र उपाध्यक्षमा पार्वती राना विजयी भए । लामाले खसेकाे कुल मत ८५०५ बाट ३ हजार ८४२ मतका साथ पालिका अध्यक्ष पदमा निर्वाचित भए । माओवादी केन्द्रका रञ्जित कुमार रानाले खसेकाे कुल मत ८५०५ बाट ३ हजार ६९८ मत प्राप्त गरेका थिए । पालिका अध्यक्ष पदमा राप्रपाबाट उम्मेदवारी दिएका शिवराम थापाले खसेकाे कुल मत ८५०५ बाट ९१७ मत प्राप्त गरेर तेस्रो स्थान हासिल गरे भने नयाँ शक्ति नेपाल पार्टीका अमृत बर्तौलाले ४८ मत पाएर चौथो भए ।
पालिका उपाध्यक्षमा एमालेकी रानाले खसेकाे कुल ८१८० मत बाट ३ हजार ८०२ मत प्राप्त गरेर निर्वाचित हुँदा नेपाली काँग्रेसकी मोम लामा दोङ खसेकाे कुल ८१८० मत बाट ३ हजार ४३५ मत पाएर दोस्रो भइन् भने राप्रपाकी सानुमाया भुलुन ८४३ मतका साथ तेस्रो भइन् ।
इन्द्रसरोबर गाउँपालिका :-
इन्द्रसरोबर गाउँपालिकामा २०७४ को निर्वाचनमा एमाले कै दबदवा रह्यो । पालिका अध्यक्ष उपाध्यक्ष दुवैमा एमालेले जित हासिल गरेको थियो । पालिका अध्यक्षमा जीवन लामा खसेकाे कुल ७४१५ मत बाट ३ हजार २०४ मतका साथ विजयी हुँदा काँग्रेसका विश्वलाल लामा खसेकाे कुल ७४१५ मत बाट २ हजार ७७३ मत पाएर दोस्रो भए भने राप्रपाका देव कुमार लामा खसेकाे कुल ७४१५ मत बाट ९४६ मतका साथ तेस्रो र माओवादी केन्द्रका विक्रम सिं मोक्तान ४९२ मतका साथ चौथो भए ।
पालिका उपाध्यक्षमा एमालेकी उमा कुमारी लामा खसेकाे कुल ६६९४ मत बाट ३ हजार १ मत पाएर निर्वाचित हुँदा काँग्रेसकी लक्ष्मी डंगोल खसेकाे कुल ६६९४ मत बाट २ हजार ८१ मतका साथ दोस्रो भइन् भने राप्रपाकी निर्मला रुम्बा खसेकाे कुल ६६९४ मत बाट १ हजार ८० मतका साथ तेस्रो र माओवादी केन्द्रकी चुन माया भ्लोन ५३२ मतका साथ चौथो स्थानमा रहिन् ।
कैलाश गाउँपालिका :-
कैलाश गाउँपालिकामा पनि २०७४ को निर्वाचनमा पालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा एमालेका उम्मेदवार विजयी भएका थिए । पालिका अध्यक्षमा काँग्रेसका लोकबहादुर मोक्तान, माओवादी केन्द्रका नरेन्द्र लाल रिजाल, राप्रपाका भिम लामा, राष्ट्रिय जनमोर्चाका कृष्णबहादुर गोले र राष्ट्रिय जनमुक्ति पार्टीका वियोग लामालाई क्रमशः दोस्रो, तेस्रो, चौथो, पाँचौ र छैटौं स्थानमा सीमित पार्दै एमालेका टंकबहादुर मोक्तानले जित हात पारे । मोक्तानले २ हजार ८०२ मत पाएर निर्वाचित हुँदा काँग्रेसका लोकबहादुरले २ हजार ३५९ मत, माओवादी केन्द्रका रिजालले २ हजार ३३५ मत, राप्रपाका लामाले ४३५ मत, जनमोर्चाका गोलेले १५९ मत र जनमुक्तिका वियोले ३२ मत पाएका थिए ।
अध्यक्ष मोक्तान अहिले नेकपा एकीकृत समाजवादीमा आवद्ध छन् । उनी भ्रष्टाचारको आरोपमा निलम्बनमा पनि परेका छन् । यद्यपि उनीमाथिको मुद्दाको किनारा भने लागिसकेको छैन ।
पालिका उपाध्यक्षमा पनि २ हजार ८०० मतका साथ एमालेकी सुकुमाया थिङ विजयी भएकी थिइन् । उनकी निकटतम प्रतिस्पर्धी काँग्रेसकी मिरा स्याङ्तानले २ हजार ४२५ मत पाएकी थिइन् । माओवादी केन्द्रकी विन्दु तितुङले २ हजार २९५ मतका साथ तेस्रो स्थान पाएकी थिइन् भने राप्रपाकी शान्ति थिङले ४१९ मत पाएर चौथो र जनमुक्तिकी फुलमाया मोक्तानले ४ मत पाएर पाँचौं स्थान पाएकी थिइन् ।
राक्सिराङ गाउँपालिका :-
मकवानपुरको विकट गाउँपालिका राक्सिराङमा भने पालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा काँग्रेसका उम्मेदवारले जित हात पारेका थिए । पालिका अध्यक्षमा काँग्रेसकी निर्मला हिम्डुङले ३ हजार ५३५ मतसहित जित हात पार्दा एमालेकी सुन्तलीमाया प्रजाले २ हजार ९५० मत पाएर दोस्रो स्थानमा सीमित भइन् । माओवादी केन्द्रकी पूर्णिमा दोङले १ हजार ९३० मत पाएर तोस्रो, जनजागरण पार्टी नेपालकी निशा मोक्तानले १०१ मत पाएर चौथो र राप्रपाकी देवीमाया लामा ९६ मत ल्याएर पाँचौं स्थानमा रहिन् ।
मनहरी गाउँपालिका :-
२०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेको वर्चश्व रहेको पालिकामध्ये मनहरी गाउँपालिकामा पनि एक हो । मनहरीमा पनि एमालेका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमालेका उम्मेदवारले जित हात पारेका थिए । पालिका अध्यक्षमा एमालेका एकराज उप्रेतीले ४ हजार ६४९ मतका साथ जित हात पारेका थिए भने काँग्रेसका शंकर न्यौपाने ४ हजार ३४० मतका साथ दोस्रो, माओवादी केन्द्रका रामहरी सुवेदी २ हजार ८४८ मतका साथ तेस्रो, राप्रपाका गोविन्द प्रसाद रिजाल ८१५ मतका साथ चौथो र नयाँ शक्तिका निखिल पौडेल १७१ मतका साथ पाँचौं स्थानमा रहे ।
पालिका उपाध्यक्षमा एमालेकी मनिला विष्टले ४ हजार ६३१ मतका साथ जित हात पारिन । पालिका उपाध्यक्षमा काँग्रेसकी कमला कार्कीले ४ हजार १६७ मत सहित दोस्रो स्थान हात पारिन् भने माओवादी केन्द्रकी चन्द्रकला खनाल लामाले २ हजार ९७६ मत, राप्रपाकी रामकुमारी न्यौपानेले ७४९ मत, नयाँ शक्ति पार्टीकी सानुमाया चेपाङले १४८ मत र जनजागरण पार्टीकी श्याबहादुर प्रजाले ३५ मत पाए ।
थाहा नगरपालिका :-
मकवानपुरको थाहा नगरपालिकामा २०७४ को निर्वाचनमा माओवादी केन्द्र र काँग्रेसबीच चुनावी तलमेल भएको थियो । सो पालिकाको प्रमुखमा माओवादी केन्द्रका लवशेर विष्टले खसेकाे कुल १६७३२ मत बाट ९ हजार ९१ मतसहित जितेका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेका विष्णुप्रसाद ढकालले खसेकाे कुल १६७३२ मत बाट ६ हजार ५४९ मत पाए भने राप्रपाका हरेराम कार्कीले खसेकाे कुल १६७३२ मत बाट ९५२ मत, नयाँ शक्तिकी निरु लामाले १३९ मत र स्वतन्त्र उम्मेदवार सशदेव तामाङले १ मत प्राप्त गरेका थिए ।
पालिका उपप्रमुखमा भने काँग्रेसका खड्ग गोपालीले ७ हजार ३०७ मतसहित जितेका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेकी कल्पना बलामीले ६ हजार ७४५ मत पाइन् भने राप्रपाकी राममाया लामा (छुमी)ले ८९७ मत, जनमोर्चाकी शोभा गोपालीले २३९ मत र संघीय समाजवादी फोरमका तारालाल श्रेष्ठले १३७ मत पाएका थिए ।
हेटौंडा उपमहानगरपालिका :-
बागमती प्रदेशको राजधानी एवं प्रदेशकै एकमात्र उपमहानगरपालिका हेटौंडामा पनि माओवादी केन्द्र र काँग्रेसबीच चुनावी तालमेल भएको थियो । २०७४ मा चुनावी तालमेल गरेका काँग्रेस र माओवादी केन्द्रविरुद्ध एमाले बलियो साबित भयो । एमालेले हेटौंडा उपमहानगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा जित हात पारेको थियो । उपमहानगरपालिका प्रमुखमा एमालेका हरिबहादुर महतले २३ हजार १२४ मत ल्याउँदै जित हात पारे भने उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका आनन्दराम पराजुलीले २२ हजार ५०९ मत ल्याए । राप्रपाका मधुकर प्रसाद अधिकारीले ६ हजार ८५७ मत, संघीय समाजवादी फोरमका शुभरत्न गोलेले १ हजार १०६ मत, राष्ट्रिय जनमुक्ति पार्टीका सोमबहादुर थिङ, मालेका भिमसेन महत लगायतले ५ सय मत कटाउन सकेनन् ।
हेटौंडा उपमहानगरपालिकाको उपप्रमुखमा एमालेकी मीनाकुमारी लामाले माओवादी केन्द्रका बलराम बललाई हराइन् । लामाले २३ हजार ४३७ मत ल्याउँदा बलले १७ हजार ११ मत ल्याए । हाल लामा नेकपा एकीकृत समाजवादीमा आवद्ध छिन् भने बल नेकपा एमाले प्रवेश गरेका छन् । त्यस्तै उपप्रमुख पदमा राप्रपाकी इन्दिरा न्यौपानेले ७ हजार ७०२ मत, नयाँ शक्तिकी खतिवडा भट्टराईले १ हजार १५३ मत ल्याइन् भने अन्य उम्मेदवारले ५ सय मत कटाउनसमेत सकेनन् ।
यो पटक एमालेलाई जोखिम –
गत २०७८ भदौ २ मा एमाले विभाजन भयो । एमाले विभाजनको असर मकवानपुरमा पनि राम्रै देखियो । एमाले विभाजनको असर मकवानपुरको स्थानीय तहमा पनि परेको छ । मकवानपुरका दुई पालिका अध्यक्ष र २ उपाध्यक्षसहित केही वडा अध्यक्ष र सदस्यहरु नेकपा एकीकृत समाजवादीमा आवद्ध भए ।
एमाले विभाजनपछि मकवानपुरका १० वटा स्थानीय तहमध्ये ४ वटा पालिकाको नेतृत्वमा एमाले छ भने २ वटामा एकीकृत समाजवादी, २ मा काँग्रेस र २ मा माओवादी केन्द्र छ ।
त्यस्तै फुट्नु अघि ८ जना उपाध्यक्ष÷उपप्रमुख रहेको एमाले हाल ६ पालिकामा उपाध्यक्ष÷उपप्रमुखमा सीमित भएको छ । २ वटा पालिकाका उपाध्यक्ष÷उपप्रमुख एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादी पार्टीमा गएका छन् । हाल मकवानपुुरको १० वटामध्ये ६ वटामा एमाले, २ वटामा काँग्रेस र २ वटामा एकीकृत समाजवादीका उपाध्यक्ष छन् ।
विभाजनपछि पनि संख्यात्मक रुपमा जिल्लाका स्थानीय तहमा बहुमत जनप्रतिनिधि रहेको एमालेभित्र पार्टी विभाजनको असर भने निकै पर्ने देखिएको छ ।
एमालेभित्रको विवाद पनि पछिल्लो समय छताछुल्ल भएको छ । एमाले मकवानपुरमा २ वटा टिम प्रस्ट देखिएको छ । केन्द्रीय नेतृत्वबाटै एक टिमलाई काखी च्याप्दा अर्को टिम भने रुष्ट भएका छन् । जसका कारण एमालेभित्रको आन्तरिक विवाद बाहिरिएको छ । यसैको असरका कारण केही जिल्लास्तरका नेताले आफ्नो सक्रियता घटाएका छन् भने केहीले पार्टी संगठनबाट बाहिरिएको घोषणासमेत गरेका छन् । आगामी निर्वाचनमा एकालेलाई यसले घाटा हुने देखिएको छ ।
आगामी निर्वाचन मकवानपुरमा एमालेका लागि निकै जोखिमपूर्ण हुने देखिन्छ । हाल एमाले मकवानपुर निर्वाचन लक्षित ‘घरघरमा एमाले, मनमनमा एमाले’ अभियान लिएर गाउँ प्रवेश गरेको छ । एमाले अहिले मकवानपुरमा आफ्ना भ्रातृ संगठनहरु निर्माणमा सक्रिय देखिएको छ ।
एमाले फुट्दा काँग्रेसलाई फाईदा –
एमालेको गढ मानिएको मकवानपुरमा फुटपछि भने काँग्रेसले गतिलै प्रभाव जमाउन सफल भएको समीक्षकहरुको भनाइ छ । विभाजनपछि एमालेको शक्ति केही कमजोर भएको देखिए पनि संगठित कार्यकर्ताको बलमा उसलाई अगाडि बढ्नबाट रोक्न अन्य दलहरुलाई हम्मेहम्मे पर्ने उनीहरुको आँकलन छ ।
एमाले विभाजनको प्रत्यक्ष फाइदा काँग्रेसलाई पुग्ने देखिएको छ । २०७४ को निर्वाचनमा जिल्लामा दोस्रो स्थानमा रहेको काँग्रेसको प्रभाव एमालेको फुटपछि बढ्दै गएको छ । फुटपछि एमालेकै जिल्लास्तरका प्रभावशाली नेता तथा कार्यकर्ता काँग्रेसको समर्थनमा जुटेका छन् । काँग्रेसका जनप्रतिनिधिको काम र लगावको प्रभावले पनि त्यसलाई थप सहयोग गरेको देखिन्छ । काँग्रेसका उम्मेदवारले जितेका स्थानीय तहलाई उदाहरणको रुपमा प्रस्तुत गर्दै एमालेका क्षेत्रको मूल्याङ्कन हुन थालेको छ ।
अहिले काँग्रेस स्थानीय तह लक्षित चुनावी अभियानमा होमिएको छ । काँग्रेस केन्द्रीय र प्रदेश प्रतिनिधिसहित ‘घरघर जाऔं, काँग्रेस जिताऔं’ अभियान लिएर मकवानपुरको गाउँगाउँमा प्रवेश गरिरहेको छ । सो अभियानका लागि काँग्रेस मकवानपुरले वडा–वडामा प्रतिनिधिहरु खटाएको छ ।
एकीकृत समाजवादीको लागि अग्निपरीक्षा –
माधव नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादी पार्टीका लागि आगामी निर्वाचन अग्निपरीक्षा हुने निश्चित छ । एमालेबाटै गएका एकीकृत समाजवादीका उम्मेदवारहरुले एमालेको गढ तोड्न कति सफल हुने हुन् भन्ने कुरा निर्वाचनपछि मात्र देखिन्छ ।
एमाले फुटेपछि मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तान र इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामा एकीकृत समाजवादीमा आवद्ध भएका छन् भने हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामा र मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्ट पनि एकीकृत समाजवादीमा सामेल भएका छन् ।
तत्कालीन समयमा एमालेबाट उम्मेदवार बनेर विजयी भएका गाउँपालिका प्रमुख र उपप्रमुखमा विजयी भएका उनीहरुको दल परिवर्तनपछिको शक्ति परीक्षण आगामी निर्वाचनबाटै हुनेछ ।
आगामी निर्वाचनलाई लक्षित गरेर एकीकृत समाजवादी पार्टीले मकवानपुरका १ हजार १ सदस्यीय निर्वाचन कमिटी तयार पारेको छ । आफ्नो पक्षमा जनमत बढाउने उद्देश्य अनुसार वडावडामा संगठन विस्तारको काममा एकीकृत समाजवादीको सक्रियता बढेको छ ।
माओवादी केन्द्रको अवस्था उस्तै –
यता २०७४ को निर्वाचनमा मकवानपुरमा तेस्रो स्थानमा रहेको माओवादी केन्द्रको अवस्थामा भने खासै सुधार आएको देखिँदैन । संगठन विस्तार तथा सुधारमा केही पहल भए पनि खासै प्रगति देखिएको छैन । त्यसो त अन्य दलका कार्यकर्ताहरु माओवादी केन्द्रमा समेट्ने काम पनि भइरहेको छ तर आफ्नै पार्टीभित्रकालाई मिलाउन नसक्दा माओवादी केन्द्र छाड्नेहरु पनि उत्तिकै छन् ।
त्यसो त केन्द्रमा केही नेता एमालेमा आवद्ध भएको असर पनि माओवादी केन्द्रले व्यहोरिरहेको छ । मकवानपुरमा पनि केही नेताहरु एमाले प्रवेश गरिसकेका छन् । यसले पनि आगामी निर्वाचनमा माओवादी केन्द्रलाई घाटा हुने देखिन्छ ।अहिले माओवादी केन्द्र निर्वाचन लक्षित कार्यक्रम अन्तर्गत संगठन निर्माण र विस्तार कार्यक्रममा सक्रिय छ भने विगतमा माओवादीमा आवद्ध रहेका तर अहिले निष्क्रिय तथा अन्य पार्टीमा गएकाहरुलाई पार्टीमा फर्काउने अभियान पनि चलिरहेको छ । आन्तरिक विवादका कारण पनि माओवादी केन्द्रभित्र तल्लो तहसम्म समस्या देखिएको छ । निर्वाचनमा सफल हुनका लागि माओवादी केन्द्रले पार्टीको आन्तरिक विवाद समाधानमा लाग्नुपर्ने देखिन्छ ।
