खोटाङ। खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित सरस्वती माबिलाई भूपु विद्यार्थीले टिभी र साउण्ड सिस्टम प्रदान गरेको छ। विद्यालयको ६२ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा भुतपुर्व विद्यार्थीले विद्यालयलाई ४९ हजार बराबरको एक थान एलइडि टिभी र एक थान साउण्ड सिस्टम प्रदान गरेको हो।
विद्यालयको आवश्यकतालाई मध्यनजर गर्दै भूपु विद्यार्थी रबिन राई, दिपक राई, मुना राई लगायत १९ जनाको टोलीले सरस्वती माविलाई टिभी र साउण्ड सिस्टम हस्तान्तरण गरेको हो। आफु पढेको विद्यालयलाई सम्झेर सञ्चार सामग्री हस्तान्तरण गरेकामा प्रअ नविन चाम्लिङले भूपु विद्यार्थीलाई धन्यवाद ज्ञापन गरेका छन्। आइतबार र सोमबार मनाइएको वार्षिकोत्सवको अवसरमा शिक्षक माधव श्रेष्ठलाई उत्कृष्ट वर्ष शिक्षकका रुपमा पुरस्कृत गरिएको छ। samayojankhabar.com बाट
नियमित विद्यालयमा उपस्थित हुने, विदामा विरलै बस्ने, उत्कृष्ट कार्यसम्पादन, पेशाप्रति गहिरो एवं जवाफदेहीता लगायतका आधारमा शिक्षक श्रेष्ठलाई उत्कृष्ट वर्ष शिक्षकका रुपमा पुरस्कृत गरिएको हो। यस्तै, २२ वर्षसम्म प्रअको नेतृत्व सम्हालेका निवर्तमान प्रअ डिकबीर राईलाई कुशल प्रशासकको रुपमा सम्मान गरिएको छ। विद्यालयको सर्वाङ्गीण विकासमा योगदान पुर्कोयाएकाे भन्दै व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष किशोरकुमार श्रेष्ठ, पुर्वअध्यक्ष कमल श्रेष्ठ, गोपाल श्रेष्ठ र स्वर्गीय रामबाबु श्रेष्ठलाई सम्मान गरिएको प्रअ चाम्लिङले बताए।
यस्तै, कोभिड–१९ को महामारीका बेला रुखमा डेरा बनाएर भर्चुअल कक्षामा सहभागी बनेर चर्चा कमाएका छात्र धनकुमार मगरलाई वर्ष चर्चित विद्यार्थीको उपाधि प्रदान गरिएको छ। सरस्वती माविको बार्षिकोत्सवमा सोही विद्यालयका पुर्व प्रअ शर्मानन्द खनालले स्थापना गरेको शर्मानन्द तथा तारा अक्षयकोषबाट शैक्षिक सत्र २०७७ मा उच्च ग्रेड प्राप्त गर्ने कक्षा १ देखि कक्षा १२ सम्मका १२ जना विद्यार्थीलाई जनही एक हजारको दरले छात्रवृत्ति प्रदान गरिएको छ। यस्तै, भुपु विद्यार्थी खिलाप्रसाद सुवेदीको प्रयोजनमा ५ जना विपन्न परिवारका बालबालिकालाई जनही एक हजारका विपन्न छात्रवृत्ति प्रदान गरिएको छ।
वार्षिकोत्सवको अवसरमा जेहेन्दार तथा अनुशासित विद्यार्थी, भलिबल, वक्तृत्वकला, हिसावदौड, भाले जुधाई, बेलुन फुटाउने लगायतका खेलका विजयी प्रतियोगीलाई पनि पुरस्कार वितरण गरिएको छ। विद्यालयले त्रियुगा नगरपालिका–११ गाईघाट, उदयपुरकी दाता शान्ता राई र खोटाङ सेवा समान कोरिया लगायतलाई सम्मान–पत्र प्रदान गरेको छ। विद्यालयका रातो सदनलाई उत्कृष्ट सदनद्धारा पुरस्कृत गरिएको छ।
कार्यक्रमले प्रअ चाम्लिङले पेश गरेको आर्थिक वर्ष २०७८/०७९ को अर्धवार्षिक प्रगती विवरण एवं भावी कार्ययोजना पारित गरिएको छ। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य केशव श्रेष्ठको सभापतित्व, हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईको प्रमुख आतिथ्यता एवं उपमेयर बिमला राईको विशेष आतिथ्यतामा सम्पन्न भएको हो। २०१७ सालमा स्थापना भएको सरस्वती माबिमा हाल ३९६ विद्यार्थी अध्ययनरत छन्।
