काठमाडौं । स्थानीय निर्वाचन, २०७९ का लागि ८० वटा दलले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका छन् । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि फागुन ५ गतेदेखि १५ गतेसम्म दल दर्ता गर्न निवेदन आह्वान गरेको थियो ।
आयोगको राजनीतिक दल व्यवस्थापन शाखाका अनुसार आइतबार अपराह्न ५ बजेसम्म स्थानीय निर्वाचन, २०७९ मा सहभागी हुन ८० वटा दल दर्ताका लागि निवेदन दिएका हुन् । आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले आयोगबाट ११० वटा दलले मान्यता प्राप्त गरे पनि स्थानीय निर्वाचन, २०७९ मा भाग लिन ८० दल मात्रै दर्ता भएको जानकारी दिए ।
तोकिएको समयभित्र दर्ता हुने दलबारे आयोगले फागुन १६ देखि २३ गतेसम्म निर्णय गर्नेछ । दर्ता भएका दलको नामावली आयोगले नेपाल राजपत्रमा प्रकाशित गर्नेछ । आयोगमा दल दर्ताका लागि निवेदन दिएकामा छवटा दल मात्रै राष्ट्रिय मान्यता प्राप्त दल हुन् ।सत्तारुढ नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी राष्ट्रिय मान्यता प्राप्त दल हुन् ।
