खोटाङ। खोटाङको रावाबेसी गाउँपालिकाद्वारा गाउँपालिकाको वडा नम्मर –५, दुवेकोलका वृद्धवृद्धालाई न्यानो कपडा र विद्यार्थीलाई निःशुल्क पोशाक बितरण गरेको छ । वडाभित्रका ७५ वर्ष माथिका वृद्धवृद्धालाई ऊनको स्विटर र टोपी त्यसैगरी विद्यार्थीलाई विद्यालय पोशाक वडाले निःशुल्क प्रदान गरेको हो ।
वडाबाट आर्थिक वर्ष २०७८/०७९ मा विनियोजित रकम रु. ३ लाख बजेटबाट पोशाक वितरण गरिएको वडा सचिव शेरबहादुर दाहालले जानकारी दिए । ७५ वर्षमाथिका ६२ जना वृद्धवृद्धाले ऊनको न्यानो स्वीटर र टोपी पाएका छन् । यस्तै वडामा रहेका तीन वटा विद्यालय गंगोदय माध्यामिक, कालिका आधारभूत, खेती आधाभुत विद्यालय ठुलोबर र दुबेकोलका बालविकास केन्द्रका गरी जम्मा ४०० जना विद्यार्थीले विद्यालय पोशाक पाएका छन् । विद्यालय पोशाकमा छात्रलाई शर्ट पाइन्ट र छात्रालाई शर्ट फ्रक वितरण गरिएको सचिव दाहालले बताए ।
हिजो र आज दुई दिन सम्पन्न कपडा तथा निःशुल्क पोशाक वितरण कार्यक्रमको प्रमुख अतिथि रावाबेसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौला र विशेष अतिथिको रुपमा दुवेकोलका वडाध्यक्ष गणेश बहादुर थापा मगर रहेका थिए ।