काठमाडौं । पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेम गौतमले अमेरिकी सरकारलाई एमसीसी परियोजना फिर्ता लैजान अनुरोध गरेका छन् । एक विज्ञप्ति निकाल्दै गौतमले संसारको महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिका र कहिल्यै कसैको उपनिवेश हुन नपरेको गौरवगाथाले ओतप्रोत नेपाल राष्ट्रका बीच रहेको अभूतपूर्व मित्रतापूर्ण सम्बन्धलाई अझ प्रगाढ र सुमधुर बनाउन सहयोग मिल्ने बताएका हुन् ।
उनले लेखेका छन्, ‘टोपी हातले समाउँदै एम सि सिलाई सकिनसकि बोक्न जाने र नेपालमा ल्याएर पशुपतिनाथलाई पूजा गरे जस्तै पवित्र काम ठान्ने तथा आफूलाई परमपिता मान्नेहरूले नेपाली जनतालाई बुझिने गरी जबाफ दिनुपर्छ । यो सम्झौताले ७४ वर्ष पहिलेदेखि अविच्छिन्न मित्रता रहेको संयुक्त राज्य अमेरिकासँग नेपालको सम्बन्धमा केही तल माथि पर्यो भने यसको सम्पूर्ण दोष आफूलाई चुकेल्या ठान्ने खलनायकहरूले नै बोक्नु पर्नेछ ।’
आज देशमाथि राजनीतिक संकटको कालो बादल मडारिएको छ । यसको मुख्य कारण गत २०७४ सालमा सम्पन्न निर्वाचन पछि बनेका सरकारहरूले एक पछि अर्को असंवैधानिक र गैर कानुनी काम कारबाही गर्नु नै हो । जब सरकार प्रमुखहरूको राष्ट्रियता, स्वाधीनता र स्वाभिमान उनीहरूको जीवन प्रवृत्ति बन्दैन तब देशभित्र जनतामाथि निरङ्कुश दमन र देशबाहिर आत्मसमर्पण गर्न पुग्छन् । त्यस्तो अवस्थामा मुलुकको अस्तित्वमाथि खेलबाड गर्दै स्वेच्छाचारी शासन व्यवस्थाको अभ्यास गर्दछन् ।
त्यसको ज्वलन्त उदाहरण हो नेपाल राष्ट्रको सार्वभौमिकता र स्वतन्त्रतामा आँच आउने नेपालको संविधान र कानुनी व्यवस्थासँग बाझिएको एम सी सी परियोजनालाई एक जना धेरै पटक प्रधानमन्त्री भएका अनुभवी मानिएका प्रधानमन्त्रीले विकासको नाममा नेपालमा हुल्छन् । त्यसै गरी दुईतिहाई बहुमत नजिकको प्रधानमन्त्रीले संविधानमा व्यवस्था हुँदै नभएको अवस्थामा पनि दुई दुई पटक प्रतिनिधि सभाको विघटन गर्छन् तथा गुप्त रूपमा एम सी सी परियोजनासँग दोस्रो सम्झौता गरी संसद् सचिवालयमा दर्ता गर्छन् ।
त्यति मात्र होइन वर्तमान गठबन्धन सरकारले संविधानसँग बाझिएको कानुन प्रयोग गर्ने गरी स्थानीय तह निर्वाचनको घोषणा गर्छ । संविधानसँग बाझिएका ऐन कानुन त संविधानसम्मत हुने गरी अध्यादेश जारी गर्न सकिन्छ। तर त्यति सम्म पनि यो सरकारले गर्ने आवश्यकता ठान्दैन। यी त केही क्षेत्रका प्रचारमा आएका गलत व्यवहार हुन् । यस्तै अन्य क्षेत्रमा संविधान र कानुनको बर्खिलाप हुने गरी सरकारबाट भएका कार्यले आज मुलुक एक पछि अर्को संकटमा फस्दै गएको छ।
अहिले नेपालको राष्ट्रियता, सार्वभौमिकता र स्वाधीनतामै गम्भीर आँच पुग्ने गरी एकीकृत नेपालको उदयदेखि आजसम्म अवलम्बन गर्दै आएको असलग्न परराष्ट्र नीतिको समेत धज्जी उडाउने गरी अमेरिकी सहयोगमा नेपालको अभूतपूर्व विकास गर्ने हल्ला मच्चाउँदै एम सी सी परियोजना ल्याइएको छ । के विकासको नाममा नेपालको राष्ट्रिय प्रतिष्ठा, स्वतन्त्रता, स्वाधीनता र सार्वभौमिकता माथि खेलबाड गर्न पाइन्छ । सरकारले यसको जवाफ नेपाली जनतालाई स्पष्ट बुझने गरी दिनुपर्छ।
परियोजनाको मूल दस्तावेज र त्यसका अन्य सहायक दस्ताबेजलाई अध्ययन गर्दा इतिहासमा कहिल्यै कसैको उपनिवेश हुन नपरेको शान्तिप्रिय देश नेपाल अब कुनै महाशक्ति राष्ट्रको अधिनस्थ हुनुपर्ने हो कि भन्ने खतरा उत्पन्न गराइएको छ । यस्तो खतरनाक विषयलाई आँखा चिम्लेर नेपालको संविधानलाई बेवास्ता गर्दै हस्ताक्षर गर्ने व्यक्तिहरुलाई अहिले नसकिए पनि कुनै दिन नेपाली जनताले कारबाही गरेर छोड्ने छन् ।