काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका मेगास्टार एवं चर्चित गायक राजेशपायल राईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्ष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेका छन् ।
बिहीबार खुमलटार पुगेर अध्यक्ष प्रचण्डलाई भेटेपछि राजेशपायलले भने, ‘अध्यक्षसँग धेरै कुरा भयो ।’ उनले नेपाली गीतसंगीतको अवस्था, खुवालुङ र २०६२ सालमा माओवादीले खोटाङ बुइँपास्थित आफ्नो घर जलाएको बारे कुराकानी भएको बताए ।
राई इज किङका रुपमासमेत चर्चित राजेशपायलले भने, ‘अध्यक्षज्यूसँग खुवालुङको विषयमा कुरा भयो । मैले उहाँलाई खुवालुङ हाम्रो लागि पानीजहाजभन्दा ठूलो हो । खुवालुङ हामी किरातीहरुको आत्मा हो, त्यसैले नफुटाउनुस् भने ।’ आफ्नो कुरा सुनेर अध्यक्ष प्रचण्ड सकरात्मक जवाफ दिएको उनले बताए ।
सप्तकोसी नदीको बीचमा एउटा ठूलो ढुंगा छ । जसलाई किरात समुदायले खुवालुङ भन्ने गरेका छन् । खुवालुङ किरात समुदायले आस्थासँग जोडिएको छ । किरात समुदायको आस्था खुवालुङलाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले फेरी चलाउन अवरोध भएको भन्दै फुटाउने निर्णय गरेको थियो । तर, किरात समुदायले आफूहरु आस्थालाई फुटाउनबाट जोगाउन आन्दोलन गर्दै आएका छन् ।
