काठमाडौं । परम्परागत कम्युनिष्ट पार्टीहरुले प्राय: दोहोर्याइरहने शब्दावली हो- संघर्षका सबै मोर्चा उपयोग गर्ने । संघर्षका सबै मोर्चा भन्नाले सडकदेखि संसदसम्मलाई बुझिन्छ र यो मुलतः सरकारमा नरहेको अवस्थामा लागू हुन्छ ।
माओवादी केन्द्र र एकीकृत समाजवादी हाल गठबन्धन सरकारमा छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले संसदमा एमसीसी टेबुल गर्ने तयारी गरेको छ । तर, आफैं सम्मिलित सरकारले अनुमोदनका लागि पेश गरेको सम्झौताविरुद्ध यी दुई दलले सडकमा कार्यकर्ता उरालेका छन् ।
अमेरिकी सहायता परियोजना (एमसीसी) लाई लिएर माओवादी र एकीकृत समाजवादी दोहोरो भूमिका अहिले छताछुल्ल बनेको छ । यी दुई दलले बुधबार कार्यव्यवस्था परामर्श समितिमा सरकारले अघि बढाउन खोजेको एमसीसीविरुद्ध फरक मत राखे । सत्ताका सहयात्रीमै बेमेल हुँदा संसदमा आज एमसीसी टेबुल हुन सकेन ।
अर्कोतर्फ गठबन्धन के हुन्छ भन्ने प्रश्न पनि उठिरहेको छ । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस जसरी पनि एमसीसी अनुमोदन गर्ने पक्षमा छ ।
माओवादी केन्द्रका शीर्ष नेता नारायणकाजी श्रेष्ठ बुधबार बानेश्वरमा भएको एमसीसीविरुद्धको सडक प्रर्दशनमै सहभागी भए । आफ्नै सरकारविरुद्ध पार्टीको भातृ संगठनको आन्दोलनमा जाँदा उनीमाथि विभिन्न टिकाटिप्पणी भइरहेका छन् ।
माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवासँग मिलेर एमसीसी अनुमोदन गर्ने वाचा गर्दै अमेरिकालाई पत्र लेखे । तर, उक्त प्रतिवद्धताको जवाफदेहिता अहिले उनी बोक्न चाहँदैनन् । बरु कार्यकर्तालाई एमसीसीविरुद्ध सडकमा उतारेका छन् भने एमसीसी टेबुल गरिएमा सरकारबाटै हट्ने भनेर पार्टीबाट आधिकारिक निर्णय गराएका छन् ।
माओवादी केन्द्रका भातृ संगठन अखिल (क्रान्तिकारी) र वाईसीएल तथा एकीकृत समाजवादीका भातृ संगठनहरु अनेरास्ववियू र युवासंघको प्रदर्शनका कारण बुधबार बानेश्वर वरपरको अवस्था तनावग्रसत बनेको थियो ।
वाईसीएलका इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ माओवादीले दोहोरो भूमिका खेलेको आरोप अस्वीकार गर्छन् । गठबन्धन एमसीसी पास गर्न सर्तमा नबनेको र संसोधनबिना एमसीसी पास गर्नुहुँदैन भन्ने माओवादीको पहिलेदेखिकै अडान रहेको उनको भनाइ छ ।
‘यो गठबन्धन र सरकार एमसीसी पारित गर्ने सर्तमा बनेको होइन,’ उनको भनाइ छ, ‘हाम्रो पार्टीले पटक–पटक एमसीसी संशोधनबिना स्वीकार गरिन्न भनेर भनेको छ । अहिले त्यही भनेर आफ्ना भावना राख्दा कसरी दोहोरो हुन्छ ?’
जबरजस्ती एमसीसी टेबुल गरिए सरकारमा नबस्ने निर्णय पार्टीको संसदीय दलको बैठकले पनि गरेको उनले बताए ।
‘हामी बस्दैनौं भन्ने कुरामा प्रष्ट छौं,’ सापकोटाले भने ।
अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली देशको राष्ट्रियतासँग जोडिएको विषयमा विरोध गर्दा सरकारमा रहने–नरहने कुरा गौण हुने बताउँछन् । सरकार आफूहरुका लागि प्राथमिकताको विषय नभएको र आवश्यक पर्दा बाहिरिन बेर नलगाउने उनको भनाइ छ ।
समाजवादीपछि माओवादीका संगठन सडकमा
सरकारमा रहँदा–रहँदै एकीकृत समाजवादीका भ्रातृसंगठन सुरुमा एमसीसीविरुद्ध सडकमा आए । फागुन १ गते सबै भ्रातृ संगठनले एमसीसीविरुद्ध एकीकृत प्रदर्शन गरेका थिए । त्यतिबेला माओवादी भने सडकमा आइसकेको थिएन । माओवादी नेताहरु व्यक्तिगतरुपमा एमसीसीको विरोध गरिरहेका थिए ।
तर, कांग्रेसले मंगलबार संसदीय दलको बैठक राखेर एमसीसी संसदमा टेबुल गराइछाड्नेतर्फ अग्रसरता देखाएपछि बुधबार बिहानैदेखि माओवादीका भातृ संगठन पनि विरोधमा उत्रिएका हुन् ।
अब दुवै सत्तारुढ दलका भातृ संगठन सडकमा आइसकेका छन् । सत्ता गठबन्धकै अर्को दल राष्ट्रिय जनमोर्चा यसअघि नै एमसीसीविरुद्ध सडकमा गइसकेको छ । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा लगायतका पार्टीले गरेको एमसीसीविरुद्धको प्रर्दशनमा जनमोर्चा सहभागि भएको थियो ।

नेपाल प्रेस अनलाईनमा याे समाचारकाे समर्थन गर्दै नेकपा एमालेका सांसदहरूले विभिन्न टीका टिप्पणि गरेका छन्। सत्ता, सडक र सदन सबै चाहिने एकै चोटी? दोहोरो चरित्रको पराकाष्ट भयो, कि सत्ता छाड्नुस कि सडक, राजनीतिकै बेइजत भयो भन्छिन् माननीय शान्ता चाैधरि।
कन्फटेल सरकारको सहकर्मी पार्टीको नाटक आफै धामी आफै बोक्सीको सुटिङ जनताको आँखामा भ्रम छर्ने अप्रधीहरु।।। भन्छिन अर्की सांसद गंगा थारु ।
