खोटाङ। आगोको ज्वालाले पोल्दा गम्भीर घाईते भएकी दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुका ४५ वर्षीया मैयाँ खत्रीको उद्धार गरिएको छ। सोमबार दिउँसो साँढे १ वजे छोरम्बुस्थित गारापुमा ससुरा(भीम बहादुर खत्री)को घरभित्र एक्कासी विधुत सर्ट भई आगलागी हुंदा सामान निकाल्ने क्रममा खत्रीलाई आगोको ज्वालाले पोलेको थियो।
आगोको ज्वालाले पोलेर घाईते भएकी खत्रीलाई तत्काल दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाईएको छ। घट्नास्थलबाट खत्रीलाई फोक्सिङटारसम्म गाउँपालिका अध्यक्ष राईले प्रयोग गर्दै आएको सरकारी गाडीमा राखेर पठाईएको हो। फोक्सिङटारबाट जिल्ला अस्पताल उदयपुरको एम्बुलेन्सले अस्पतालसम्म लगेको हो।
आगोले खत्रीको दायाँ हातको पञ्जा सबैभन्दा बढी डढेको छ भने, बाँया हातको औला पनि जलेर कालो भएको छ। अनुहारको एकपत्र छाला र कपाल समेत जलेको छ। आगलागी भएको खबर सुन्न साथ घट्नास्थलमा पुगे। भाउजु(घाईते मैया खत्री) पीडा सहन नसकी रोई रहनु भएको थियो। सबैजना आतिने, चिच्याउने गरिरहेका थिए। कसैले घाईतेलाई अटोमा अस्पताल पठाउनुपर्छ भन्दै थिए। गाउँपालिका अध्यक्ष राईले भने, ‘अटोमा लैजाने स्थिति थिएन, आफै चढ्ने गाडीमा राखेर फोक्सिङटारसम्म पठाईदिए त्यहाँबाट एम्बुलेन्सले अस्पताल लग्यो। म मोटरसाइकलमा गाउँपालिका फर्के।’
घाईते खत्रीको जिल्ला अस्पताल उदयपुरमा उपचार सुरु भएको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। खत्रीको उपचार गर्नमा गाउँपालिकाले पनि आर्थिक सहयोग गर्ने गाउँपालिका अध्यक्ष राईले बताए। मैयाँको श्रीमान अगम बहादु खत्रीको २ कार्तिकमा टुवाखोलामा आएको बाढीमा परी ज्यान गएको थियो।
आगलागीबाट ढुंगा माटोले बनेको टिनको छाना भएको दुई तले घर पूर्णरुपमा जल्दा अन्दाजी ५ लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक सागर साहले बताए। प्रहरी र स्थानीयको सहयोगमा २ : १० बजे आगो नियन्त्रणमा आएको थियो।
