काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीको विपक्षमा जाँदा गठबन्धन र सरकार छोड्न परे पनि तयार रहेको स्पष्ट पारेका छन् । प्राइम टाइम्स एचडीको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै दाहालले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अनुमोदन प्रक्रियामा लगे गठबन्धन र सरकार दुवैबाट बाहिरिने घोषणा गरेका हुन् । एमसीसीको विपक्षमा जनमत भएका बेला अनुमोदन प्रक्रियामा लैजान नहुने दाहालको भनाई छ ।
अध्यक्ष दाहालले अझै पनि एमालेसँगको सहकार्य हुन सक्ने बताएका छन् । तत्काल सहकार्य नभए पनि समय परिस्थितीले फेरी पनि एमालेसँग एकता, सहकार्य र चुनावी गठबन्धन हुन सक्ने बताए । आवश्यक परे आफूले केपी ओलीसमक्ष सहकार्यको प्रस्ताव लैजाने दाहालले बताए ।
चुनावलाई लक्षित गरेर नेपाली कांग्रेसलगायतका दलहरुसँग पनि तालमेल गर्ने दाहालको भनाई छ । कांग्रेसका केही नेताहरुले तालमेलको विरोध गरे पनि कांग्रेसको ९० प्रतिशत कार्यकर्ता तालमेलको पक्षमा रहेको दाहालको दावी छ । अन्तरवार्ताका क्रममा दाहालले समग्र अवस्थाको चिरफार गरेका छन् । वैदेशिक सम्बन्ध सबैसँग राम्रो हुनुपर्ने भन्दै उनले अमेरिकासँग पनि आफू सम्बन्ध विगार्न नचाहने स्पष्ट पारेका छन् ।
