काठमाडौं । नेपाली काँग्रेसले अमेरिकी सहयोगसम्बन्धी एमसीसी देशका लागि राम्रो भएको निष्कर्ष निकाल्दै अनुमोदन गर्ने निर्णय गरेको छ । आज पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यसम्पादन समितिको बैठकले चुनाव अघि नै एमसीसी अनुमोदन गरेर यसबारे भ्रम चिर्न जनतामा जाने निर्णय गरेको हो ।
बैठकको निर्णयबारे जानकारी दिदै पूर्वमहामन्त्री डा. सशांक कोइरालाले एमसीसी नेपालका लागि राम्रो भएकाले अनुमोदन गरेर जनतामा जाने बताए । उनले भने,‘एमसीसी अनुमोदन गरेर यस विषयमा जनतामा छरिएको भ्रम चिर्नुपर्छ ।’
एमसीसी नेपाल र नेपाली जनताका लागि आएको भन्दै यसबारे बुझाउनुपर्ने बताए । एमसीसीविरुद्धको मत कमजोर गर्न भ्रम चिर्ने समेत बताए ।
एमसीसी चुनाव पछाडि मात्र टुंगोमा पुर्याउन सत्ता गठबन्धनका शिर्ष नेताहरु प्रचण्ड र माधव नेपालले प्रस्ताव गरेपछि बसेको काँग्रेस बैठकले समयमै अनुमोदन गरेर जाने निर्णय गरेको हो ।
एमसीसीबारे आजको बैठकमा पूर्वअर्थमन्त्री डा. रामशरण महतले लामो ब्रिफिङ गरेका थिए। उनले एमसीसीबारे फिजाइएको भ्रम र यथार्थबारे समेत उल्लेख गरेका थिए । लामो ब्रिफिङ गरेपछि देउवाले जनताले बुझ्ने गरी छोटोमा लिखित रुपमा बनाएर दिन भनेका थिए ।आजको बैठकमा एमसीसी अनुमोदन गर्न तत्काल अगाडि बढुनुपर्ने, विकल्पमा जानुपर्ने भए तयार हुनुपर्ने सुझावहरु पनि दिइएका थिए ।
