खोटाङ ।गोरु काटेर मासु बेच्दै गरेका खोटाङका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेस्थित दिखुवाखोलाको शिरमा आइतबार दिउँसो गोरु काटेर मासु बेच्दै गरेका सोही नगरपालिकाको वडा नं. १२ जालपाका ३९ वर्षीय जयराम तामाङ, ३५ वर्षीय खगेन्द्र तामाङ र ४० वर्षीय गणेश तामाङलाई प्रहरीले रङ्गेहात पक्राउ गरेको हो।
गोरु काटेर मासु बेच्दै गरेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहले जानकारी दिनुभयो। पक्राउ परेका उनीहरुको साथबाट गोरु काट्न प्रयोग गरिएका एक थान बञ्चरो र तीन थान खुकुरीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
गोरुको मासु र हतियारसहित पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय खोटाङको हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको सूचना अधिकारी साहले जानकारी दिनुभयो। गोरु काट्नमा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका उनीहरु तीनैजनाविरुद्ध मुलुकी ऐनको फौजदारी संहिता, २०७४ को परिच्छेद २७ अनुसार मुद्दा दर्ता गरेर कारवाहीको प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ। मुलुकी ऐनको परिच्छेद २७ मा गाई/गोरु मार्न, कुट्न वा अङ्गभङ्ग पार्न नहुने व्यवस्था उल्लेख छ।
यदि कसैले गाई/गोरु मारेमा वा कुनै नियतले चोट पु¥याउने काम गरेमा कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र अङ्गभङ्ग पारेमा छ महीनासम्म कैद भुक्तानी गर्नुपर्ने व्यवस्था छ। यद्यपि, माँझकिराँत भनेर चिनिने खोटाङ जिल्लाको अधिकांश स्थानीय तहका बासिन्दाले पहिलेदेखि नै गाईगोरु काटेर मासु खाने गरेका छन्।
किराँत राईहरुको बाहुल्यता रहेको खोटाङ जिल्लामा आफ्नो कुलपितृका लागि अनिवार्य गाईगोरुको मासु चाहिने भन्दै उनीहरुले काटमार गर्न कानूनी रुपमै पाउनुपर्ने बताउँदै आएका छन्। आइतबार गोरु काट्दै गरेका तीनजनालाई प्रहरीले पक्राउ गरेपछि अहिले सामाजिक सञ्जालमार्फत प्रहरी प्रशासनको चर्को विरोध शुरु भएको छ।
