मौन अवधिमा मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका आफ्ना निर्वाचन चिह्न र प्रचार सामग्री हटाउनुपर्ने, एसएमएस, फेसबुक र भाइबर जस्ता विद्युतीय माध्यमबाट मत माग्न र प्रचार गर्न नपाइने व्यवस्था छ । यसैगरी उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी सञ्चार माध्यमले समाचार वा सूचना प्रसारण गर्न नहुने पनि आयोगद्वारा सार्वजनिक सुचनामा उल्लेख छ ।
आयोगले निर्वाचन मण्डलको अन्तिम नामावलीमा नाम समावेश भएका मतदाताले प्रदेश सभा सदस्य, पालिका अध्यक्ष वा उपाध्यक्ष तथा नगरप्रमुख वा उपप्रमुखमा निर्वाचित भएको प्रमाणपत्र वा मतदाता परिचयपत्रका आधारमा वा नागरिकता वा राष्ट्रिय परिचयपत्रका आधारमा मतदाता विवरणसँग भिडाइ यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन पनि निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।
राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहका १ हजार ४ सय ९३ जना र प्रदेश सभामा ५ सय ३२ जना गरेर जम्मा २ हजार २५ जना मतदाता छन् । निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र गाउँपालिका तथा नगरपालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ ।राष्ट्रिय सभामा २० फागुनबाट १९ सिट रिक्त हुँदै छ । रिक्त हुनेमा नेकपा एमालेको ८ सिट छ । यस्तै एकीकृत समाजवादीका चार, माओवादी केन्द्रका चार र कांग्रेसका तीन सदस्यको पदावधि पनि सकिँदै छ ।
