रोल्पा । रोल्पाको ऐतिहासिक होलेरी बजार अतिक्रमणको चपेटामा परेको छ । होलेरी बजार क्षेत्रस्थित विद्यालय र मन्दिरका नामका जग्गाका साथै सामुदायिक वन क्षेत्र तथा ऐलानी जग्गासमेत अतिक्रमण गरी घरटहरा बनेका छन् । बजार क्षेत्रको ऐलानी जग्गासमेत अतिक्रमण भएका छन् । होलेरीमा रहेको महेन्द्र माध्यमिक विद्यालयको स्वामित्वको जग्गामा ठूलठूला भवन र टहरा बनेको स्थानीयवासी नन्दराम खड्काले जानकारी दिए ।
मन्दिरको जग्गामा ग्यारेज तथा सामुदायिक वन र ऐलानी जग्गामा घरटहरा बनेका छन् खड्काले भने ।नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्रका स्थानीयस्तरका उच्च राजनीतिक हैसियत भएका नेताहरु नै ऐलानी जग्गामा घरटहरा बनाएको खड्को भनाइ छ ।अतिक्रमण हटाउन स्थानीय सरकारले पहल गरे पनि सार्थक हुन नसकेको स्थानीयवासीको भनाइ छ । ‘बजार क्षेत्रको गुरुयोजना बनाएर अगाडि बढ्ने सहमति भए पनि हालसम्म कार्यान्वयन भएको छैन’, उनले भने ।
स्थानीय सरकारले विभिन्न कार्यक्रममा लाखौँ बजेट खर्च गरे तापनि केही गर्न नसकेको गुनासो उनको गुनासो रहेको छ । ‘सर्वपक्षीय बैठकको आयोजना गरेर समस्या हल गर्ने प्रयास गरेका छौं’, रुन्टीगढी गाउँपालिका अध्यक्ष बालाराम बुढाले भने । सो ठाउँमा तीन/चार थरीका जग्गा भएको पाइएकाले नापी कार्यालयको प्राविधिक सहयोगमा जग्गा छुट्याउने काम हुँदैछ उनले भने ।
वन क्षेत्र, मन्दिर, सडक, सार्वजनिक जग्गा सबै भएको हुँदा भूमि व्यवस्थापन आयोगको प्रक्रियाबाटै टुङ्ग्याइने अध्यक्ष बुढाको भनाइ छ । उनले भने, ‘पन्ध्र दिनभित्र अतिक्रमित जग्गा छोड्न भनिएको छ, नछोडे कानूनी प्रक्रिया अगाडि बढ्छ ।’स्वर्गद्वारीको प्रवेशद्वारका साथै स्वर्गद्वारी महाप्रभुको जन्मस्थान रुन्टीदेखि नजिकको दूरीमा रहेकाले होलेरीमा दैनिक हजारौँ तीर्थयात्री आवतजावत गर्दछन् ।
दक्षिण रोल्पाको महत्वपूर्ण व्यापारिक नाकासमेत रहेको होलेरी १० वर्षे सशस्त्र जनयुद्ध घोषणा गर्दा तत्कालीन विद्रोही नेकपा माओवादीले पहिलोपटक प्रहरीमाथि आक्रमण गरेको ठाउँ हो ।धार्मिक, युद्ध र पर्या–पर्यटनका रुपमा विकास हुँदै गरेको होलेरी बजार क्षेत्रको अतिक्रमणले स्थानीयवासी चिन्तित भएका छन् ।
