२०६८ सालको सायद माघ महिना हुनुपर्छ, दिन छोटो थियो र जाडो अचाक्ली । वर्तमान खोटेहाङ गाउँपालिकामा आवद्ध साविकको ८ गाविसहरु लिच्कीराम्चे, सिम्पानी, इन्द्राणीपोखरी, चिप्रिङ, वडकादियाले, खोटाङवजार र वापलुखा मिलेर भोजपुरको पान्धारेबाट रसुवाघाटसम्म मोटर बाटो खन्ने र त्यसको रुट तय गर्ने उदेश्यका साथ ८ गाविसका सयौं मान्छेहरु रोक्सिङ भञ्ज्याङको १ गते बजारमा भेलिएका थिए । पोखरा र विदेश गरि झण्डै १५ वर्ष गाउँ बाहिर बसेको म, मोटरबाटो खन्ने कुराले उत्साहित हुँदै त्यहाँसम्म तानिएको थिएँ ।
एकाध बाहेक सबै अनुहार नौलो लागेको थियो मलाई । चिनेजानेका तिनै एकाध मान्छेहरुबाट थाहा पाएँ, बाटो खन्ने र रुट तय गर्ने कुरामा धेरै पटक बैठक बसेको तर निष्कर्ष ननिस्किएको कुरो । दिनभर छलफल चल्यो, घरी केही जनाबीच त घरी धेरैको समूहमा । छलफल गर्न घरी वल्लो डाँडा घरी पल्लो डाँडा कुदेको कुदेकै, हरिगुड्डु खेले जसरी नै ।
आ-आफ्नो पक्ष र विपक्ष थियो । कुरो बुझ्दै जाँदा मोटर बाटोको रुट रोक्सिङ भञ्ज्याङबाट खोटाङवजार झर्नुपर्छ भन्ने अडानमा खोटाङ र वडकादियाले थियो । लिच्कीराम्चे, सिम्पानी, इन्द्राणीपोखरी र चिप्रिङको अडान भने रोक्सिङबाट इन्द्राणीपोखरी, सिम्पानी हुँदै सिधै रसुवा जोड्नुपर्छ र पछि खोटाङबजारको लागि शाखा खन्नुपर्छ भन्ने थियो । सडकको नाममा समेत विवाद देखिन्थ्यो । खोटाङवजार पक्षकाहरु सडकको नाममा खोटाङवजार जोडिनुपर्छ भन्ने अडानमा थिए भने अरुहरुले रसुवा-पान्धारे मात्र राख्नुपर्छ भनिरहेका थिए ।
सम्बन्धित गाविसहरुको अगुवाहरु सम्मीलित बैठकसँगै उपस्थित अन्य मानिसहरुको तर्क वितर्क पनि गज्जबका थिए । त्यो बेला उदयपुरको बाघखोर भञ्ज्याङसम्म गाडी चल्थ्यो भने मान्छेलेनै खनेर रौता पोखरीसम्म बाटो बनाएका थिए । बाघखोरबाट हिँडेर खोटाङको इन्द्राणीपोखरी आइपुग्न हामी जस्ता मैहुँ भन्नेलाई पनि १० देखि १२ घण्टा लाग्थ्यो । बाघखोरदेखि रसुवाघाटसम्म मोटर बाटो तुरुन्तै खनिएला भन्ने देखिएको थिएन, यद्यपि सगरमाथा राजमार्ग रसुवाघाट हुँदै दिक्तेल जाने गरि सर्वेको काम सम्पन्न भएको थियो । त्यो बेला भोजपुर बजारदेखि चखेवासम्म ग्रामिण पहुँच कार्यक्रम (RAP) ले बाटो निर्माण गर्दै थियो । चखेवादेखि पान्धारेसम्म मोटरबाटोको कुनै नामोनिसाना थिएन । त्यस्तो बेला पान्धारेबाट रसुवासम्म मोटरबाटो खन्नु साँच्चै ठट्टा जस्तै लागेको थियो धेरैलाई । त्यसैले त धेरै जना ठट्यौली गर्दै भन्दै थिए, उधोबाट खन्नु पर्ने बाटो उभोबाट खनेर हुन्छ ?
रात पर्न लाग्यो तर सहमति भएन । भीड क्रमश: पातलिन्दै जान थाल्यो तर सम्बन्धित गाविसका मुख्य मानिसहरु अझै प्रयासमा थिए । अन्तिम प्रयासको लागि भनेर जङ्गलको छेवैको चौरमा सबै भेलियौं । त्यो छलफलमा म पनि सरिक भएँ । पुरानो सदरमुकाम खोटाङवजार भएको हुनाले खोटाङवजारमा बाटो पुर्याउनु पर्छ भन्ने कुरामा कसैको विमति थिएन तर सिम्पानी, लिच्कीराम्चे, चिप्रिङ र इन्द्राणीपोखरीलाई संका थियो-खोटाङवजार बाटो पुर्याएपछि खोटाङेहरुले बाटो पुरानागाउँ-ठूलीबेंसी हुँदै रसुवा लान्छ र इन्द्राणीपोखरी, सिम्पानी तथा लिच्कीराम्चेलाई हेरेको हेरेकै बनाउँछ ।
मैले थाहा पाउँदै देखिको एउटा कहावत थियो-“खोटाङका रकमी, सिम्पानीका बाठा, लिच्कीका कोग्लेटा, इन्द्राणीपोखरीका लाटा”। यो मोटरबाटो खन्ने सन्दर्भमा कहावतले बताए झैं लिच्की र इन्द्राणीपोखरी कोग्लेटा र लाटा बने वा बनेन् भन्न सकिन्न तर खोटाङवजार रकमी र सिम्पानी बाठा चैं भएकै हुन् । धेरैवटा गाविस सिम्पानीको विचारमा सहमत हुनु र लगभग एक्लै हुँदा पनि आफ्नो अडानमा खोटाङवजार रहिरहनु त्यसैको संकेत हो ।
छलफलमा नेकपा (माओवादी केन्द्र) का वर्तमान प्रदेश १ उपाध्यक्ष देवान किराती “पृथ्वी” को समेत उपस्थिति रहेछ भन्ने कुरो मैले अन्तिममा आएर थाहा पाएँ र सडक खन्ने कामको प्रस्तावक पनि तात्कालिन एकीकृत नेकपा माओवादी नै रहेछ । स्क्याभेटर पानधारे आइपुग्न लागेको र रकम व्यवस्थापन हुन सके डेढ महिनामा रोक्सिङ भञ्ज्याङसम्म मोटरबाटो खनिने कुरा “पृथ्वी” ले राख्नु हुँदा धेरैले पत्याएनन् । पान्धारेबाट रोक्सिङ भञ्ज्याङ हिंडेर आउन तीन-चार घण्टा लाग्छ, यति लामो दूरी सडक खन्न बर्षौं लागेको प्रत्येक्ष देख्नेहरुले कसरी विश्वास गरून् पनि । सिम्पानी क्याम्पसका तात्कालिन क्याम्पस प्रमुख राजनप्रसाद ढकालले तत्कालै प्रतिक्रिया जनाउनु भो “डेढ महिना होइन, तीन वर्ष जतिमा चाहिँ आइपुग्ला” । खोटाङ क्याम्पसमा क्याम्पस प्रमुख कुमार पराजुलीले त अझै यो ठाउँमा मोटर कुद्ने सपना नदेखौं नै भन्नू भो । तर माओवादीका साथीहरु, सहमति नभए पनि बाटो खनी छाड्ने अडानमा हुनुहुन्थ्यो ।
त्यो अन्तिम भनिएको छलफलमा पनि खोटाङ तथा सिम्पानी पक्षधरको अडान यथावत थियो । सडकले पहिला खोटाङवजार छुनै पर्ने र बाटोको नाममा खोटाङवजार जोडिनै पर्ने भन्ने अडानले सहमती निस्कने अवस्था थिएन । अरुकै कुरा सुनेर चुपचाप बसिरहेको म, एउटा निश्कर्षमा पुगें । “सडकको नाममा खोटाङवजार राख्नै पर्ने अवस्थामा पहिला बाटो सिधै रसुवा जोड्ने र पछि खोटाङवजारको लागि शाखा खन्ने, यदि बाटोको नाममा खोटाङवजार नजोड्ने हो भने पहिला खोटाङवजारको लागि शाखा बाटो खनिदिने र त्यसपछि इन्द्राणीपोखरी, सिम्पानी, लिच्कीहुँदै रसुवा जोड्ने ।” यहि कुरालाई जोड गर्ने उदेश्यका साथ मैले केही बिचार राखें र खोटाङवजारका साथीहरुलाई सोधें, तपाईहरुलाई नाम चाहिएको होकि पहिला बाटो ? खोटाङवजारका वर्तमान वडाध्यक्ष शिव फयल (उसबेला मैले चिनेको थिइन) बोले-हामी नामभन्दा पनि पहिला बाटो रोज्छौं । त्यसपछि मैले भने “त्यसो हो भने सडकको नाम रसुवा-लिच्कीराम्चे-सिम्पानी-इन्द्राणीपोखरी-पान्धारे राख्ने र मूल सडक यही रुट हुने । इन्द्राणीपोखरीको कुनै भागसम्म सडक पुर्याएपछि खोटाङवजारको लागि पहिला शाखा सडक खनी दिने । खोटाङवजारसम्म सडक पुगे पनि रसुवा नझरिञ्जेलसम्म वडका र खोटाङवजारले बराबरी लगानी गरिरहने ।”
हो मैले यति बोली सकेपछि छलफलमा सहभागी धेरै जनाले सहमतिको संकेत जनाए । त्यसपछि सडकको नाम माइन्युटमा माथी भनिएझैं लेखियो र खोटाङवजार शाखा छुटिने जीरो प्वाइन्ट बुधेधारालाई तोकियो । शहरमा बस्दा बस्दा अँध्यारोसँग छेरभालु भैसकेको म, आफ्नो कविता संग्रह “सिम्माको नाममा नयाँ चिट्ठी” क. पृथ्वीलाई थमाएर हतार हतार घरतर्फ डौडिएँ ।
तात्कालिन जिल्ला विकास समितिबाट समेत उक्त सडकको लागि बजेट व्यवस्थापन भएको हुँदा पछि सम्झौता गर्ने क्रममा सडकको नाममा अनिवार्य “खोटाङवजार” जोड्नै पर्ने बाध्यता आइपरेछ, उपभोक्ता समितिलाई । सम्भवत: खोटाङवजारसँग जोडिएको “रकमी” उपमा यस्तै कामलाई हेरेर त थमाइएको होला ।
क्रमशः
