काठमाडौं । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी (सीडीओ) रुद्रादेवी शर्माले मास्क लगाउन अटेरी गर्नेलाई ठाउँको ठाउँ कारबाही गरिने बताएकी छन् ।नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै सीडीओ शर्माले भनिन्,” हामी अहिले जिंगल बजाएर वृद्ध, अशक्तहरुलाई मास्क बाँडिरहेका छौं । सकेसम्म स्वतःस्फूर्त रुपमा मास्क लगाउने गरी सकारात्मक बाटोबाटै काम गरिरहेका छौं । अब मोटरसाइकल-गाडी चढ्ने, बुझेर पनि नबुझेजस्तो गरी माक्स नलगाई अटेरी गर्नेहरु ठाउँको ठाउँ कारबाहीमा पर्छन् । त्यसको नतिजा तपाईंले केही दिनमा देख्नुहुनेछ ।”
पछिल्लो समय कोरोना संक्रमण ह्वात्तै बढेकाले सबैले सुरक्षित हुने प्रयास गर्नुपर्ने सीडीओ शर्माको कथन छ । उनले थपिन्, “अस्ति भरखर एउटा सरकारी अफिसमा ३७ जनाको टेस्ट गर्दा १० जनामा कोरोना पोजिटिभ भेटियो । हाम्रै अफिसमा दुई जनामा संक्रमण देखियो । कोभिड र ननकोभिडका बिरामीले अस्पताल भरिएका छन् । निजी अस्पतालाई तयारी हालतमा राख्नुपर्ने अवस्था छ ।”
सीमा नाकामा मास्क प्रयोगमा निगरानी राखिए पनि स्वास्थ्य परीक्षण नभएको उनले बताइन् । उनले भनिन्, “हामीले उपत्यकामा नागरिकलाई रोकेका छैनौं । साँगामा सशस्त्र र नेपाल प्रहरीबाट सवारी जाँच बढाएका छौं । सवारी साधन धेरै बेर रोक्दा जाम हुन्छ । अब टेस्ट बढाउने सोच छ । यसबारे उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकबाट छिटै निर्णय हुन्छ ।”
जिल्लामा खोप अभाव नभए पनि खोप केन्द्रमा भीडभाड बढिरहेको सीडीओ शर्माले बताइन् । उनले भनिन्, “खोपमा कुनै अभाव छैन । तर कोरोना रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य मापदण्डको पालना अनिवार्य छ । सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य गरेपछि खोप केन्द्रमा भीडभाड बढिरहेको छ । सबैको प्रयासले नै हामी सुरक्षित हुने हो ।”
