खोटाङ । नेकपा एमाले खोटाङको बन्दसत्र सुरु भएको छ । दिक्तेलको माटिकोरेस्थित जिल्ला खेलकुद विकास समितिको कवर्डहलमा जारी सातौं जिल्ला अधिबेसन अन्तरगत बन्दसत्र सुरु भएको हो ।
बन्दसत्र एमाले प्रमुख सचेतक एवं पोलिटव्यूरो सदस्य बिशाल भट्टराईले उद्घाटन गरेका थिए । शुक्रबार बेलुका ७ बजेपछि सुरु भएको बन्दसत्रमा राजनीतिक, साँगठनिक, आर्थिक र विकास तथा समृद्धि प्रतिवेदन प्रस्तुत भइरहेको छ ।
प्रस्तुत प्रतिवेदन छलफल गरेर पारित गरेपछि नेतृत्व चयनको चरणमा बन्दसत्र पुग्ने छ । ‘सत्तालिप्साले जन्माएको गठवन्धन विरुद्ध एक होऔं, विकास, संवृद्धि र अग्रगतिका लागि सवै एमाले एक बनौं’ भन्ने नारा सहित सुरु भएको अधिबेसनमा आकांक्षी धेरै देखिए पनि सर्वसहमतीमा एमालेको नेतृत्व चयन हुने एमाले खाेटाङले बताएको छ ।
अधिबेसनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित ७५ सदस्यीय जिल्ला कमिटि निर्माण गर्ने छ । बन्दसत्रका लागि प्रमुख सचेतक एवं पोलिटब्यूरो सदस्य भट्टराईको संयोजकत्वमा आठ सदस्यीय अध्यक्ष मण्डल र नेपाल निजामति कर्मचारी सङ्गठनका केन्द्रीय सचिवालय सदस्य ध्रुवकुमार कार्कीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको छ ।
अधिबेसन उद्घाटन–सत्रमा प्रमुख सचेतक एवं पोलिटब्यूरो सदस्य भट्टराई, केन्द्रीय सदस्यहरु खगेन्द्र राई, उषाकला राई, रमेश पौडेल, केन्द्रीय अनुशासन आयोगका सदस्य कर्ण घले लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
अधिबेसनमा जिल्ला अधिबेसनमा वडा, गाउँपालिका, नगरपालिका कमिटि, सल्लाहकार परिषद, कम्यूनिष्ट मञ्च, खोटाङ–काठ्माण्डौं सम्पर्क मञ्च, जनसंगठन, अल्पसंख्यक, सिमान्तकृत, फरक क्षमता र लैंगिक अल्पसंख्यकबाट एक हजार प्रतिनिधिको सहभागीता रहेको अधिबेसन प्रचार–प्रसार विभाग प्रमुख दिलचक्र राईले बताए ।
