काठमाडौं। नेपालमा पश्चिमी वायुसँगै न्यूनचापीय प्रणालीको प्रभावले देशभरकौ मौसममा बदली आएको छ । जल तथा मौसम विज्ञान विभागले जारी गरेको सूचना अनुसार आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भ–भागका धेरै स्थानमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना देखिएको छ ।
साथै आज र भोली राजधानीसहित देशका पहाडी तथा तराईका केही भू-भागमा फाटफुटदेखि हल्का वर्षाको समेत सम्भावना रहेको छ । अहिले काठमाडौंसहित आसपासका जिल्लाहरुमा छिटपुट बर्षा भइरहेको छ । काठमाडौFमा वर्षासँगै प्रमुख पर्यटकीय केन्द्र चन्द्रागिरिमा हिमपात सुरु भएको छ । चन्द्रागिरी हिल्स लिमिटेडका जेनेरल म्यानेजर अभिषेक बिक्रम शाहले चन्द्रागिरीमा हिमपात सुरु भएको जानकारी दिएका हुन् ।
आगामी दिनमा तापक्रममा गिरावट आई चिसो बढ्नसक्ने सम्भावना रहेको बताउँदै विभागले यस मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाईरयातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । त्यस्तै देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको विभागले जनाएको छ ।
