झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेको बहुमत आउने दावी गरेका छन् ।देशैभरि एमालेको पक्षमा जनलहर आएको दाबी गर्दे एमालेको बहुमतलाई कसैले रोकेर, छेकेर रोक्न नसक्ने उनको भनाई थियो ।
दमक-३ स्थित निर्माणाधीन दमक भ्यूटावरको अवलोकन पछि आज त्यहाँ आयोजित सभालाई सम्बोधन गर्दे उनले एमालेले गरेको कामलाई देखेर जनताले फेरि पनि तीनै तहको निर्वाचनमा एमालेलाई बहुमत दिएर जिताउने दाबी गरे ।
एमालेलाई देशी, विदेशी शक्तिले सत्ताबाट हटाएको उल्लेख गर्दे उनले अव जनताले नै फेरि अत्यधिक मत दिएर एमालेलाई सिंहदरबारमा पुर्याउने बताए । उनले भने,‒‘जनताले एमालेलाई खोजेका छन्, आगामी निर्वाचनबाट त्यो प्रमाणित हुनेमा दुई मत छैन’ ।
देशमा विकासको लहर चलाएको प्रति रिस गरेर एमाले नेतृत्वको सरकार ढालेको ओलीको आरोप थियो । उनले आउँदो चुनावमा प्रचण्ड ,माधव नेपाललाई जनताले लेखाजोखा सहित जवाफ दिने धारणा राखे । उहाँहरूको चुरीफुरी चुनावसम्म मात्र भएको र चुनाव पछि बत्ती बालेर खोज्नु पर्ने उनको टिप्पणी थियो ।
शनिवार गृह जिल्ला झापा आएका ओली सोमबारसम्म दमकमा बस्ने कार्यक्रम छ । झापा क्षेत्र न. ५ का प्रतिनिधिसभा सदस्य समेत रहेका ओलीले आइतबार र सोमबार आफ्नो निर्वाचन क्षेत्रमा सञ्चालित विभिन्न आयोजनाहरूको अवलोकन तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।
